गृहपृष्ठ नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकम प्रबन्ध निर्देशकको रूपमा पौडेललाई नियुक्त गरेको हो ।
पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । पौडेल २०७५ साउनमा केन्द्रको कार्यकारी निर्देशक भएर गएका थिए । उनी कार्यकाल पूरा नगरी टेलिकमको एमडी बनेका हुन् । टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट उनी प्रबन्ध निर्देशक नियुक्त भएका हुन् ।
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सूचना तथा प्रसारण मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले पौडेल सहित टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडी अर्याल सहित तीन जनालाई सिफारिस गरेको थियो । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गर्ने प्रक्रियामा नियम, पद्धति र निर्देशिका परिवर्तन गरी प्रबन्ध निर्देशक बनाउन लागिएको भन्दै कर्मचारीहरू आन्दोलन गरिरहेका थिए । कर्मचारीको बिरोध बीच पौडेल एमडीमा नियुक्त भएका हुन् । टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलन गरिरहेका थिए ।
यसअघिका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल गत पुसमा समाप्त भएदेखि टेलिकम नेतृत्वविहीन थियो । प्रबन्ध निर्देशकका लागि आवेदन माग गर्दै मंसिर २२ गते सूचना प्रकाशित गरेको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए । समितिले इच्छुकबाट आवेदन माग गरेकोमा ९ जना अन्तर्वार्ताका लागि छानिएका थिए । चैत २२ र २३ गते भएको अन्तर्वार्ताबाट तीन जनालाई सिफारिस गरेको थियो ।
प्रबन्ध निर्देशकमा पौडेल, आचार्य, पहाडी सहित खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवं इन्जिनियर अर्जुनबाबु ढकाल, टेलिकमकै पूर्वकर्मचारीहरू प्रदीपराज उपाध्याय, सुरजसिंह थापा, टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र र दीपक बहादुर शाहीले पनि आवेदन दिएका थिए ।
प्रकाशित समय : २०:५३ बजे

















