nmb bank

गृहपृष्ठ ‘वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन सक्दैन’

‘वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन सक्दैन’

‘वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन सक्दैन’

यस वर्ष नेपालमा हामीले वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाउँदै छौँ । जनस्वास्थ्यका मुद्दाहरुलाई सम्बोधन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले वर्षेनी नारा तय गर्दछ ।

विश्व जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावको साक्षी छ । प्रत्येक बितेका वर्षलाई हेर्ने हो भने हामीले अझ स्पष्ट र थप प्रमाणका साथ कसरी जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जिवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भन्ने देखिरहेका छौँ । त्यसैले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन सक्दैन ।

विश्वमा दसमध्ये नौ जनाले प्रदूषित हावामा सास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ । नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १ सयको अकालमै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार प्रत्येक वर्ष संसारभर १३ लाखभन्दा बढी मानिसको मृत्यु हामीले नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरुले गर्दा हुन्छ ।

नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको मुलुक हो । देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारकहरु हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरु चालेको छ । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको छ जुन स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्यांनका आधारमा परिमार्जनको चरणमा छ । यसका अतिरिक्त विभिन्न नीतिहरु जस्तै राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सन् २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलन (COP26) मा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपालले पेन्टमा हुने सिसा (lead)को मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागू गरेको छ र यसको कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको छ । मर्करीको (lead) प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकाहरुलाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्षभित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।

हामीले स्वास्थ्य सेवा संस्थाहरुमा स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चिजत गर्न आवश्यक सेवाहरुमा लगानी बढाउन जरुरी छ । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धताअनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रसायनिक सुरक्षा, सरसफाईजस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा हासिल गर्न प्रतिवद्ध छ ।

अन्त्यमा, राजनितिक नेतृत्व, नागरिक समाज, पत्रकार, सम्पूर्ण सरोकारवाला तथा आमसमुदायहरुलाई स्वस्थ नेपालका लागि स्वच्छ र हरित वातावरणको सृजना र प्रवर्द्धनमा आवश्यक योगदान गर्न आहवान गर्दछौँ ।

(विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति)

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु