एक दिनअघि एमाले प्रवेश गरेका पित्तबहादुर माओवादीमै फर्किएर प्रचण्डलाई भेटे
वि.सं.२०७८ चैत २३ बुधवार १७:१५
shares

नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका पित्तबहादुर डल्लाकोटीले प्रचण्डसँग भेटवार्ता गरेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी (हरि)ले खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका हुन् ।
प्रचण्डलाई आज बिहान भेटेर उनले केही मानिसको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताएका छन् ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर डल्लाकोटीले फुलमाला पहिरिएका थिए । ०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए । तर एकदिन नबित्दै माओवादी केन्द्रमै फर्किएका हुन् ।
‘केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ। यसमा मेरो गल्ती भयो तर मलाई मैले बनाएको पार्टी कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्,’ अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले भने, ‘सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म घर फर्केको छु।’

























