गृहपृष्ठ भारत भ्रमणको अन्तिम दिन : प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने
भारत भ्रमणको अन्तिम दिन : प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आजै उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान ९ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नेछन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्ध थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका हुन् । उनीहरूबीच करिब एक घण्टा द्विपक्षीय संवाद भएको थियो ।
देउवाले सीमा विवादलगायत अन्य धेरै विषयमा छलफल भएको बताए । देउवाभन्दा अघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कतै पनि नभेटिने बताए ।
प्रकाशित समय : १३:२६ बजे


















