जनकपुर-जयनगर रेल उद्घाटन
वि.सं.२०७८ चैत १९ शनिवार १९:५०
shares

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट नेपाल रेल सेवाको संयुक्त उद्घाटन गरेका छन् । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक दुई प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यममार्फत उद्घाटन गरेका हुन् ।
यता जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको थियाे । उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका थिए । दुवै देशका प्रधानमन्त्रीले हरियाे झण्डा हल्लाएपछि जयनगरबाट कुर्थाका लागि रेल गुडेकाे थियाे । उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । जनकपुर-जयनगर ७० र कुर्था-जयनगर ९० रुपैयाँ भाडा कायम भइकाे रेल्वे कम्पनीले जनाएकाे छ ।
रेल उद्घाटन कार्यक्रममा भाग लिन आएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूतावासका उच्च अधिकारी, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा र सञ्चारकर्मीसहितको टोली जयनगर पुगेका थिए । भारतीय रेलवे कम्पनी कोंकणले दुई रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर नेपाललाई दिएकाे हाे । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन भएकाे हाे ।


























