स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ
वि.सं.२०७८ चैत १७ बिहीवार १५:३१
shares

स्रोत नखुलेको करिब आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका-५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए ।
भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका-६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शंका लागेर जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।
दासको साथबाट प्रहरीले नेपाली एक हजारका नोट ५८५ थान र नेपाली नोट ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकाेमा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने विष्टले बताए ।
























