गृहपृष्ठ मिल्स गोल्ड फुटबल प्रतियोगिता हुने
मिल्स गोल्ड फुटबल प्रतियोगिता हुने
युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा 'मिल्स गोल्ड कप फुटबल प्रतियागिता-२०७८' आयोजना गरिने भएको छ । मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा सम्मेलनमा यही चैत ११ देखि १८ गतेसम्म रानीस्थित जुटमिल खेलमैदानमा आयोजना गरिने प्रतियोगितामा प्रदेश-१ र मधेस प्रदेशका गरी आठ टोलीको सहभागिता हुने छन् ।
ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगितामा सशस्त्र प्रहरी पूर्वाञ्चल, साइनो स्पोर्टस क्लब रानी मिल्स एरिया, गोधुली क्लब धरान सुनसरी, उर्लाबारी-११ मोरङ, गाईघाट-११ उदयपुर, एन्फा एकेडेमी धरान सुनसरी, दमक एकेडेमी झापा र गोलबजार प्रतिभा फुटबल क्लब सिरहाबीच प्रतिस्पर्धा हुने बताए । 'नकआउट'का आधारमा हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई दुई लाख एक हजार, उपविजेता टोलीलाई एक लाख एक हजारका साथै ट्रफी एवं प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किशोर सुब्बाले जानकारी दिए ।
यसैगरी 'म्यान अफ दी म्याच', प्रशिक्षक, गोलकिपर डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । मिल्स एरिया क्षेत्रका साथै विदेशमा बसेका नागरिकहरुबाट पनि रकम संकलन गरिएको र प्रतियोगिताका लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । आगामी वर्षदेखि नेपालका 'ए' श्रेणीको टोलीको प्रतियोगितामा सहभागिता गरिने प्रतिबद्धता ट्रष्टले गरेको छ । यस क्षेत्रमा खेलकुद प्रतियोगितामा गर्न रंगशालाको अभाव रहेकाले मिल्स एरियामा बन्द रहेको अशोक टेक्सटायल वा जुट मिलको जग्गा उपलब्ध भएमा खेलकुदको विकास गर्ने ट्रष्टका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङले बताए ।
प्रकाशित समय : २०:३२ बजे

















