गृहपृष्ठ बोतलमा पेट्रोल नबेच्न प्रशासनको २४ घण्टे अल्टिमेटम
बोतलमा पेट्रोल नबेच्न प्रशासनको २४ घण्टे अल्टिमेटम
बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधानिकरुपमा खुल्ला रूपमा पेट्रोलियम पदार्थको कारोबार भइरहेको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो । जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा पानीको बोतलमा राखेर जथाभाबी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रूपमा प्रज्वलनशील वस्तु पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गरिने भएको हो । तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेरै पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिए । सदरमुकाम फुङ्लिङ बजारमा पहिलेदेखि नै तरकारी, किराना, फलफूलजस्ता पसलमा व्यापारीले पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेका छन् । यस्ता पसलहरुमा बिक्री गरिने कतिपय पेट्रोलियम पदार्थमा पानी वा अन्य तरल पदार्थ मिसाएर बिक्री हुने गरेको बताइन्छ ।
यस्तै पेट्रोलियम पदार्थ अति प्रज्वलनशील भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहँदै आएको स्थानीयले बताउने गरेका थिए । यसरी विगतदेखि नै गैर कानुनी रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरिएको भए पनि नियामक निकाय भने मूकदर्शकजस्तै भएको उपभोक्ताको आरोप छ । त्यस्तै मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका र सडे-गलेका खाद्य पदार्थहरु पनि फेला परेको अनुगमन टोली जनाएको छ । सदरमुकाम फुङ्लिङ बजारका माछा मासु पसलमा कुहिएको तथा सडेको माछामासु फेला परेको थियो । केही पसलमा निक्कै सडेको र कुहिएको माछा मासु फेला परेकाले जफत गरी नष्ट गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए । यता सडे-गलेको माछामासु बिक्री गरेको भेटिएपछि पुन: दोहोरिएको पाइएमा कानुनी कारबाही हुनेतर्फ सचेत गराइएको छ । यस्तै केही किराना पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तुहरू पनि फेला परेको बताइएको छ ।
प्रकाशित समय : १८:०५ बजे




















