गृहपृष्ठ लालपूर्जा हातमा, खेत भारतीयको कब्जामा

लालपूर्जा हातमा, खेत भारतीयको कब्जामा

लालपूर्जा हातमा, खेत भारतीयको कब्जामा

‘यो जमुनी नदीपारि मेरा एक बिगाह जग्गा छ । १५ वर्ष पहिले वर्षको ४० क्विन्टलसम्म धान र गहुँ उब्जाउँदै आएको थिएँ । घर व्यवहार राम्रै चलेको थियो तर अहिले आफ्नो खेत भारतीय किसानले १२ वर्षदेखि कब्जा गरेपछि २० को घरपरिवार चलाउन मुस्किल भयो । अरुको खेतमा दैनिक ज्यालामजदुरी गर्नुपर्ने बाध्यता छ ।’

यो पीडा धनुषाको मुखियापट्टी मुसहर्निया वडा नं. २ का ६० वर्षीय किसान जिवछ यादवको हो । हातमा हँसिया र काँधमा डोरीसँगै गम्छामा जग्गाकाे लालपूर्जा लिएर नेपाल-भारत सीमा नाकामा पर्ने जमुनी नदी किनारमा भेटिएका यादव जग्गा गुमाउनु पर्दाको पीडाले निकै भावुक देखिन्थे । उनीसँगै भेटिए अर्का किसान भिखारी यादव । उनको समेत समस्या र पीडा उस्तै छ । जमुनी नदीपारि १२ कठ्ठा जग्गा भए पनि आफूले भोगचलन गर्न नपाएको उनको गुनासो छ । आफ्नो जग्गा भोगचलन गर्न नपाउँदा १५ जना सदस्य रहेको परिवार चलाउन निकै समस्या भएको उनले समस्या सुनाए । वर्षभरि खान, लगाउन नपुग्ने भएकाले अहिले अर्काको खेतमा काम गर्न जानुपर्ने बाध्यता रहेको उनले बताए ।

जिवछ यादव र भिखारी यादव प्रतिनिधि पात्र मात्रै हुन् । मुखियापट्टी मुसहर्नियाका सयौं किसानको समस्या उस्तै छ । तर किसानहरुको समस्याप्रति स्थानीय प्रशासन भने बेखवर छ । स्थानीय जनप्रतिनिधिहरुले चाहेर पनि केही गर्न सक्ने अवस्थामा छैन । यसको कारण हो। दुई देशको सिमाना क्षेत्र । नेपाल र भारतको खुला सीमा नाकालाई जमुनी नदीले समेत निर्धारण गर्ने आधार मानिएको छ । तर अहिले नदीको धार परिवर्तन हुँदा किसानहरु समस्यामा पर्दै आएका छन् ।

मुखियापट्टी मुसहर्निया वडा नं. २ का वडाध्यक्ष नरेश प्रसाद यादवका अनुसार करिब १५ वर्ष पहिले जमुनी नदीमा आएको ठूलो बाढीले वहाव क्षेत्र परिवर्तन भएको हो । सो क्षेत्रहरुमा गाडिएको सीमा स्तम्भहरुले समेत नेपाल र भारतको जग्गा स्पष्ट छ । तर जमुनी नदीपारि नेपाली भूमि पर्न गएपछि भारतीय किसानहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सहयोगले नेपाली किसानहरुको भूमि कब्जा गरेर खेतीपाती गरिरहेको वडाध्यक्ष यादवको भनाइ छ । भारतीय पक्षले नेपाली किसानहरुको जग्गा कब्जा गरेपछि जिवछ यादव, भिखारी यादव लगायतका सयौं किसानले आफ्नो जग्गा गुमाएका छन् ।

स्थानीय राजनीतिकर्मी मञ्जु यादवले भूमि नेपालको भए पनि जमुनी नदीपारि भएपछि भारतीयहरुले कब्जा गरेको बताइन् । ‘खेतमा सीमा स्तम्भ पनि छ । सीमा स्तम्भको पारि भारत र वारि नेपालको भूमि हो । नदीले आफ्नो वहाव क्षेत्र परिवर्तन गर्दा यो समस्या भए पनि नेपाली भूमि भारतीय पक्षले जबर्जस्ती कब्जा गरिनु दुखद विषय हो,’ उनले भनिन् ।

खाद्य अधिकारको क्षेत्रमा क्रियाशील फियान नेपालका मधेस प्रदेश संयोजक नन्दनी यादवले नेपालीले आफ्नो भूमिको उपभोग गर्न पाउनुपर्ने माग गरे । उनले भने, ‘नेपाली किसानहरुको हातमा नेपाली लालपूर्जा छ, सीमा क्षेत्रमा गाडिएको सिमास्तम्भले समेत नेपाल र भारतको भूमि स्पष्ट छुट्टाएको छ । तर पनि नेपाली किसानहरुको भूमिको अधिकार र खाद्यको अधिकारलाई भारतीय पक्षले हनन् गरिरहेकाले दुवै देशका सुरक्षाकर्मी र सरोकारवाला निकायहरुको समन्वय हुन जरुरी छ ।’

जमुनी नदीले आफ्नो वहाव क्षेत्र परिवर्तन गर्दा दुवै तर्फको जग्गा नदीको वारि र पारि भएकाले त्यसलाई समाधान गर्न दुवै तर्फबाट सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा संयोजक यादवले जोड दिए ।

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु