गृहपृष्ठ ओलीकाे व्यंग्य- अहिलेको सरकार नक्कली मुला हाे, हल्लाउनै पर्दैन, फुत्त आउँछ
ओलीकाे व्यंग्य- अहिलेको सरकार नक्कली मुला हाे, हल्लाउनै पर्दैन, फुत्त आउँछ
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । नेपाली निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताए ।
'यो केही होइन, मुलाको पनि अलिकति सानोतिने भए पनि जरा हुन्छ । यसको त जरा न फरा, पाँच जनाले नियुक्त गरेको छ । यो त बालुवामा लगेर राखेको नक्कली मुलाजस्तो हो, फुत्त आउँछ । हल्लाउनु पनि पर्दैन, यो त फुत्त आउँछ,' उनले व्यंग्य गरे । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै उनले अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई आफूहरुले खाली तान्ने दिन खोजिरहेको बताए ।
ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाब दिएको दाबी गर्दै उनले उनीहरुको सोच अलोकतान्त्रिक भएको टिप्पणी गरे । अध्यक्ष ओलीले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक/बेठिक छुट्याएर नबस्न आग्रह गरे । सरकार ठिक बनाउन राजनीतिक पार्टीहरुको जन्म भएको उनको भनाइ छ ।
प्रकाशित समय : २०:४५ बजे



















