गृहपृष्ठ रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत घट्यो, करिब ६ प्रतिशतले बढ्याे महँगी
रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत घट्यो, करिब ६ प्रतिशतले बढ्याे महँगी
गत माघ मसान्तसम्मको बजार महँगी ५.९७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ) सम्मको वित्तीय प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै बैंकले २०७८ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको हो । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति २.७० प्रतिशत मात्र थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको बैंकले उल्लेख गरेके छ । २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमश: २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र फर्निसिङ तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति भने क्रमश: १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ । क्षेत्रगत रुपमा यस्तो मुद्रास्फीति समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ ।
चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले कमी आएको छ । साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स मुलुकमा भित्रिएको छ । गत वर्ष यसै अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको बैंककाे प्रतिवेदनमा जनाइएकाे छ ।
प्रकाशित समय : २२:१३ बजे



















