गृहपृष्ठ महोत्तरी कांग्रेस सभापतिमा यादव विजयी
महोत्तरी कांग्रेस सभापतिमा यादव विजयी
नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । शनिबार घोषित मतपरिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।
दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरंग नेपालीले ३०६ मत प्राप्त गरे । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।
कांग्रेसको १४औँ महाधिवेशनका क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।
सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका छन् । यसअघि नेपाल विद्यार्थी संघको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार हुन् ।
उनी जिल्लाको लोहारपट्टी नगरपालिकाको मधपुराका स्थायी बासिन्दा हुन् ।
प्रकाशित समय : १३:१८ बजे



















