कमिसनको चक्करमा इन्धन आपूर्तिमै अवरोध, सरकार चुपचाप
वि.सं.२०७८ फागुन २१ शनिवार १४:५७
shares

नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ५ रुपैयाँले वृद्धि गर्दै प्रतिलिटर १५० रुपैयाँ पुर्याएपछि उपभोक्ता मारमा छन् । ठिक यसैबेला आफ्नो कमिसन नबढाएको भन्दै पेट्रोल पम्प व्यवसायीहरुले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध गरेका छन्।
नेपाल पेट्रोलियम व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा देशैभर डिजेल, पेट्रोल, मटितेल लगायतका अत्यावश्यक सेवाको आपूर्ति ठप्प भएको छ । व्यवसायीको अवरोधका कारण निगमको चारआली झापा, विराटनगर र धनगढी डिपोबाट पम्पहरुले शुक्रबार राति ७ बजेसम्म इन्धन खरिद नगरेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।
बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धन बिक्रीमा व्यवसायीले पाउने कमिसन कटौती गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
यसैपनि महंगीले जनता थलिएका बेला निगम र व्यवसायीको कमिसन चक्करले उपभोक्तालाई हैरान बनाएको छ । तर सरकारले समस्या समाधानका लागि कुनै खाले पहल लिएकाे छैन ।























