काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहिद स्मारक ‘ए’ डिभिजन लिग : घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

12.22K
shares

मनाङ मर्स्याङदी क्लब जारी ‘कतार एवरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणको खेलमा शनिबार आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा  नेपाल पुलिस क्लबमाथि ३-१ गोल अन्तरको जित निकाल्दै मनाङ लिग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्दतमा मनाङले पुलिसलाई पोखरा रंगशालामा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एक/एक गोल गरे पनि दोस्रो हाफमा भने मनाङले दुई गोल थप्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । खेलको १०औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बनाए । उनले रक्षक दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गरे । खेलको ३५औँ मिनेटमा पुलिस क्लबले गोल गर्दै खेल बराबरीमा ल्यायो । मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा पुलिसका सुमन लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

मनाङले दोस्रो हाफमा अञ्जन विष्टको फ्रि-किक गोलमार्फत खेलमा पुनः अग्रता बनायो । ७३औँ मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गरेका थिए । मनाङका निशान लिम्बुले ८३औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लिम्बुले ओलावालेको पासलाई उपयोग गरी गोल गरेका थिए ।

मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अंकसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा त्रिभुवन आर्मी र संकटा क्लब समान नौ अंकसहित क्रमश : तेस्रो र चौथो स्थानमा छन् ।

मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रंगशालामा खेल्ने तालिका छ । खेलपछिको पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताए । खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उनले प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक अनन्तराज थापा भने सम्मेलनमा अनुपस्थित रहे ।