काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेनी-जोमसोम-कोरला सडक : दुई खण्डमा ६५ र ८५ प्रतिशत काम सम्पन्न, ४ अर्ब ७३ करोड खर्च

15.94K
shares

कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् ।

आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बता । 'नियमित र सहज रुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माणको काम भइरहेको छ,' उनले भने, 'एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँच वटा पुल बनाउन बनाउन आवश्यक छ ।' म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ ।

छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र  जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । चालिस मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ ।

आयोजनाका इञ्जिनियर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए । 'चालिस मिटर लम्बाइको रुप्से खोलाको पुलको दुवैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ,' उनले भने, 'भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।'

बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएकोभन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव गरिएको छ । 'छुसाङको मुस्ताङ गेटमा डोलिडारले बनाएको पुलसँगै अर्को ५० मिटर लामो पुल बनाउन प्रस्ताव गरिएको छ । पुलले खोलाको सबै भाग समेट्न नसकेपछि नयाँ पुल बनाउन आवश्यक देखिएको हो,' उनले भने । निर्माणाधीन १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरिद ऐनअनुसार थपिएको समयसीमा आगामी चैत महिनामा सकिँदैछ । निर्माण कम्पनी गजुरमुखीका व्यवस्थापक राजन न्यौपाने (नरेन्द्र)ले अत्यधिक चिसो, बेमौसमी वर्षा र हिमपातका साथै दुई पटकसम्मको कोरोना महामारीले सडक तथा पुल निर्माणमा समस्या भए पनि थपिएको समयभित्र पुल तथा सडक निर्माण गराउन आफूहरू जुटेको बताए ।

सात अर्ब २७ करोड रूपैयाामा ठेक्का सम्झौता भएका बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए । पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ वटा खण्डमा सडक स्तरोन्नति भइरहेको छ । पच्चीस किलोमिटर दूरीको चराङ-छोसेरबाहेक जोमसोम-कोरला खण्डको छ वटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ ।

बेनी-जोमसोम खण्डको ६५ र जोमसोम-कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बेनी-जोमसोम सडकको बेनीदेखि घाँसा खण्डमा डीबीएसटी र घाँसा जोमसोम खण्डमा आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हाे । (रासस)