प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
वि.सं.२०७८ पुस ३ शनिवार २२:३३
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । संघीय संसदमा जारी अवरोध हटाउने, अमेरिकी एमसीसीलगायत समसायिमक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा भएको अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ । यता, सत्ता गठबन्धनमै अमेरिकी परियोजना एमसीसी विवाद भइरहेको छ । एमसीसीलाई लिएर एमालेले पनि 'पर्ख र हेर'को रणनीति बनाइरहेको छ ।
























