चितवनलाई सिंगापुरको सन्तोसा आइल्याण्डजस्तै बनाउनुपर्छ : प्रचण्ड
वि.सं.२०७८ मंसिर १८ शनिवार १७:१२
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई सिंगापुरको सन्तोसा आइल्याण्डजस्तै बनाउनुपर्ने बताएका छन् । चितवनमा आज भरतपुर महानगरपालिकाले नारायणी किनारमा बनाउने सिबीच मोडलको पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणकाे शिलान्यास गर्दै दाहालले यसलाई सिंगापुरको आइल्याण्डजस्तै बनाएर पर्यटक आकर्षित गर्ने बताएका हुन् ।
दाहालले जल, जंगल र जमिनको सही ढंगले प्रयोग गरी विकास गर्नुपर्ने समेत बताए । उनले भने, ‘नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो । यी सबै जल, जमिन र जंगलसँग सम्बन्धित छन् । यसको प्रयोग गरे चितवनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल भूमिका खेल्न सक्छ ।’
सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोग हुने दाहालले बताए । त्यसका लागि पानीले एउटा महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने बताए ।
विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ ।’ जिल्लाको विकासका लागि ठूला-ठूला परियोजना सोचिएको भन्दै उनले भने, ‘शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।’ यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ ।
देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उनले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए । सो अवसरमा महानगर प्रमुख रेणु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताइन् । जसका लागि २९ करोड रुपैयाँ आवश्यक हुने उनको भनाइ थियो । हाल पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा ६ करोड ६७ लाखमा ठेकेदार कम्पनीले स्वीकार गरेको उनकाे भनाइ छ ।
पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिगाह क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने समेत दाहालले बताइन् ।
























