काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्नेको भीड

12.09K
shares

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवंगत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर-घरमा समेत दिवंगत पितृको नाममा अखण्ड महादीपदान गरेका थिए । त्रयोदशीको राति पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी, कैलाशडाँडा, हंशमण्डप, बागमती किनार र गौरीघाट क्षेत्रमा रातभर पितृको सद्गतिको कामना गर्दै बत्ती बालेर बसेका भक्तजनले आज बिहान शतबीज छरेका छन् ।

बाला चतुर्दशी मेलामा आएका भक्तजनका लागि पाललगायत सुविधा दिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । विभिन्न संस्थाले पशुपति क्षेत्रमा विभिन्न संस्थाले स्वास्थ्य शिविरको समेत आयोजना गरेका थिए । गत वर्ष भने पशुपति क्षेत्रमा त्रयोदशीको राति अखण्ड दीपदान गर्न निषेध गरिएको थियो । चतुर्दशीका दिन बिहान शतबीज छर्न भने खुला गरिएको थियो । कोरोना जोखिम कायमै रहेकाले राजधानीका अन्य शिवालयमा दूरी कायम गरी दीपदान गर्न बसेका भक्तजन पनि धेरै थिए ।

राजधानीलगायत देशभरका शिवालयमा बिहीबार बेलुका दीपदान र आज बिहान शतबीज छर्न भक्तजनको भीड लागेको थियो । कतिले घरमै पाञ्चायन पूजा गरिएको स्थानमा रातभर बत्ती बाली बिहान पशुपति क्षेत्र वा अन्य शिवालयमा गई शतबीज छरेका छन् । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु-याउन अनुरोध गरिन्छ । शतबीजमा अरु अन्न नराखी धानका सय गेडा चढाउनुपर्ने हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

'भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,' उनले भने । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर बिहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार पहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ । शतबीज उम्रने खुला ठाउँमा छर्नुपर्ने भए पनि पशुपति क्षेत्रमा ढुंगा र इँटा राखेका स्थानमा समेत छरेको देखिन्छ । कोषले खुला उम्रने स्थानमा मात्र छर्न गरेको आह्वान कार्यान्वयन भएको छैन ।