गृहपृष्ठ चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ
चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ
चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनुका साथै उनीहरूबाट २८ लाख ८३ हजार ३ सय ५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो । फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ ।
प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १ सय ५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछ्र्याेट भएको र एक सय २ मुद्दा फछ्र्याेट हुन बाँकी छ । प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ । पक्राउ परेकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ ।
चार महिनाकै अवधिमा ११ जना लागुऔषधसहित पक्राउ परेको र उनीहरुबाट १ सय १४ थान डाइजेपाम, १ सय १४ थान फेनरागन, १ सय १३ थान नुफिन र १० किलो ८ सय ५५ ग्राम गाजा बरामद भएको छ । प्रहरीले सोही अवधिमा १ सय ५५ रोपनी क्षेत्रफलमा उम्रिएका २२ हजार ३ सय ७ गाजाका बोट नष्ट गरेको जनाएको छ ।
पाँच वटा जुवा मुद्दामा ६८ जनालाई पक्राउ गरी ११ लाख ७५ हजार ९ सय १० नगद बरामद गरेको प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि तपाईको मास्क खै अभियानअन्तर्गत ४७ वटा कार्यक्रममार्फत नौ हजार ५ सय ३५ लाई मास्क वितरण गरेको थियो ।
अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ चार महिनाको अवधिमा एक डोजर, दुई स्काभेटर, दुई जेसिबी, दश टिपर र ३७ ट्र्याक्टर गरी ५२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर चार लाख ७६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १५:३१ बजे



















