global ime bank Long Banner Ad

गृहपृष्ठ प्रवासीको लगानीमा दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

प्रवासीको लगानीमा दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

प्रवासीको लगानीमा दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

प्रवासी म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको आयोजना निर्माण सुरु गरेको हो ।

हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताए । ‘विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो’, उनले भने । ‘बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत् आयोजना बनाउन लागेका हौँ ।’ गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघका पूर्ववरिष्ठ उपाध्यक्षसमेत  रहेका कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयवासीसम्मको लगानी रहेको बताए ।

विसं २०७६ मंसिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गरेको आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन । विसं २०७७ को बाढीपहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको थियो । आयोजनाका इञ्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरिएको जानकारी दिए ।

‘गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ’, उनले भने, ’बाँध र विद्युतगृह निर्माणको तयारीमा छौँ ।’ मालिका गाउँपालिका-७ बिम र धौलागिरि गाउँपालिका-७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने गरी  पाँच किलोमिटर ५ सय मिटर सुरुङ निर्माण गरिने भएको छ । चारवटा अडिटबाट सुरुङ खनिने भएको छ । बाँध र आउटलेटसँगै तोलाबाङमा ६ सय मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दीगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेँसीमा रहने आउटलेटको १ सय मिटर हेडमार्फत बालौटेमा निर्माण हुने पावरहाउसमा पानी खसालेर विद्युत् उत्पादन गरिने भएको छ । 

आयोजना नजिकै बिमको डाँडाखेतमा सबस्टेसन निर्माण सुरु भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकबाट तीन अर्ब ५० करोड रूपैयाँ ऋण लगानी गर्ने सम्झौता पनि भएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दालाई पनि लगानीको अवसर दिइने प्रर्वद्धकले बताएका छन् । कूल पाँच अर्ब १५ करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रर्वद्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ ।

असर पर्ने क्षेत्रका लगानीकर्ता र प्रर्वद्धकबीचको विवादका कारण २०७१ फागुनमा आयोजनाको काम सुरु हुन सकेको थिएन । आगामी तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु