गृहपृष्ठ एकीकृत समाजवादी पार्टी मेरै पार्टी जस्तो हो : प्रचण्ड
एकीकृत समाजवादी पार्टी मेरै पार्टी जस्तो हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी आफ्नै पार्टी जस्तो भएको बताएका छन् । कैलाली जिल्लामा बिभिन्न कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ‘प्रचण्ड’ ले कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनपछि सो कुरा बताएका हुन् ।
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले विभिन्न माग राख्दै अध्यक्ष ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्रमा राखिएका मागलाई सम्बोधन गराउनका लागि केही मन्त्रालय आफ्नै पार्टीको भागमा परेको र नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेका मन्त्रालयबाट काम गराउन कुनै समस्या नहुने बताएका हुन् ।
'अर्थ, उर्जा, सिचाई, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मेरै पार्टीको भागमा छ,' प्रचण्डले भने, ‘यी क्षेत्रका माग सम्बोधन गराउन समस्या छैन । स्वास्थ्य, पर्यटन, सहरी विकास मन्त्रालय एकीकृत समाजवादी पार्टीसँग छ । त्यो पार्टी पनि मेरै पार्टी जस्तै हो । काम गराउन समस्या छैन । यी समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिन्छु ।’
प्रकाशित समय : २२:४९ बजे


















