global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले महाधिवेशन : सेल्फी खिच्न २५ स्थान बनाइयो

एमाले महाधिवेशन : सेल्फी खिच्न २५ स्थान बनाइयो

एमाले महाधिवेशन : सेल्फी खिच्न २५ स्थान बनाइयो

नेकपा (एमाले)को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम भइरहेको एमालेले जनाएको छ ।

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उनले भने, ‘मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिनेछ । त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिनेछ ।’ उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्बीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । ट्रेड युनियन महासंघको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ । यसका लागि चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि एक लाख रुपैयाँ खर्च हुनेछ । यो फाइबरको बन्नेछ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउँछन् । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट ‘डोरीको छेकबार’ निर्माण गरिनेछ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।

एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने एमालेले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु