गृहपृष्ठ ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता-२०७८’ हुँदै
‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता-२०७८’ हुँदै
नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता-२०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जंगी अड्डामा साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मंसिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।
प्रतियोगिता आर्मी अफिसर्स क्लबका दुई कोर्ट र नेपाल लन टेलिस संघकाे दशरथ रंगशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए । खुलातर्फ पुरुष सिंगल र डबल, महिलातर्फ सिंगल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिंगल तथा डबल प्रतियोगिता हुनेछन् ।
मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लन टेनिस संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुल्ला हुने छ । तहगत रुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लबबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिंगलतर्फ एक हजार ५०० सय र डबलका लागि दुई हजार दर्ता शुल्क कायम गरिएको छ ।
प्रतियोगितामा मेन्स र विमन सिंगलतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमश: ५० हजार, २५ हजार र १५ हजार प्राप्त गर्ने छन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनर अप तथा सेकेन्ड रनरअफ हुनेलाई क्रमश: ४० हजार, २० हजार र १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ । भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिंगलतर्फ विजयी, रनरअप र सेकेन्ड रनर अप हुनेले क्रमश: ३० हजार, १५ हजार र १५ हजार प्राप्त गर्ने छन् । संघ अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताए ।
महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताए । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५/४९ प्रशिक्षक र पाँच छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । संघ प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हुँदै आए पनि मुलुकका मुख्य-मुख्य सहरमा मात्रै सीमित रही आएको बताए ।
हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ वुमन सिंगल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिए । विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।
प्रकाशित समय : २१:२७ बजे



















