संगठनको निर्देशनअनुसार काम गर्न निमित्त आइजीपीको निर्देशन
वि.सं.२०७८ मंसिर ६ सोमवार १८:१६
shares

निमित्त प्रहरी महानिरीक्षक एआइजीपी निरजबहादुर शाहीले संगठनको नीति निर्देशन एवं प्रचलित ऐन नियमअनुसार परिचालित भई काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सरुवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन दिएका हुन् । संगठनकै मूल्यांकनको कारण प्राप्त जिम्मेवारीलाई पूर्ण नैतिकवान् र इमानदार भई संगठन उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए ।
निमित्त प्रहरी महानिरीक्षक शाहीले अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतमा विशेष चनाखो रही सामुहिक भावनाका साथ उत्कृष्ट काम गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । आ-आफ्नो कार्यक्षेत्रअनुसार अन्य निकायहरूसँग समन्वय र समदूरी कायम गरी हरेक काममा सफलता हाँसिल गर्दै नेपाल प्रहरीको प्रतिष्ठा कायम राख्न उनले निर्देशन दिए ।
उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले थप सुधारका काम गर्नुपर्ने उल्लेख गरे । उच्च व्यवसायिकता र आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्नुपर्नेमा उनले जोड दिए ।























