global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटकको खर्च र बसाई बढ्यो, संख्या घट्ने भो

पर्यटकको खर्च र बसाई बढ्यो, संख्या घट्ने भो

पर्यटकको खर्च र बसाई बढ्यो, संख्या घट्ने भो

त्यसो त पर्यटन क्षेत्र भनेको हालको अवस्थामा नेपालमा मात्रै नभएर विश्वभरी नै धरमरमा रहेको अवस्था हो । धेरैजसो पर्यटन विज्ञहरुका अनुसार विश्व पर्यटन क्षेत्रमा रहेको यो धरमरको अवस्था अझ दुई तीन वर्षसम्म रहन सक्छ । विश्व पर्यटनलाई सन् २०१९ को अवस्थामा पुर्‍याउन अझै दुई/तीन वर्ष लाग्ने सम्भावना रहेको छ । त्यो पनि हाल चलिरहेको कोभिड-१९ महामारीले तत्कालै विश्राम लिएमा । अन्यथा अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

नेपालमा पर्यटनका विविध सम्भावना रहेका छन् । त्यसमध्ये प्रमुखमा पर्छ हिमाल र हिमाल आरोहण । हाम्रो देशमा हिमरेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । तापनि सरकारले पर्वतारोहीका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ भने ती हिमाल आरोहणका लागि कुनै पनि देशका पर्वतारोहीबाट विदेशी मुद्रा वा भनौं अमेरिकी डलर (निश्चित नेपाली रुपैयाँ बराबर)को आरोहण शुल्क लिएर अनुमतिपत्र जारी गर्ने गरेको छ ।

पर्यटक र पर्यटनको कुरो गर्दा अहिलेको अवस्था भनेको नेपालमा मात्रै नभएर, विश्वमै धरमरमा रहेको अवस्था हो । पछिल्लो विश्व पर्यटनको तथ्यांक हेर्दा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसको संख्या सन् २०१९ को तुलनामा ८१ प्रतिशतले घटेको थियो । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या पनि सन् २०२० मा लगभग ८२ प्रतिशतले घटेको थियो, सन् २०१९ को तुलनामा ।

जबकि नेपाल सरकारको तयारी भने सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने रहेको थियो । सो लक्ष्यअनुसार ‘नेपाल भ्रमण वर्ष-२०२०’ वर्षको रुपमा मनाइँदै थियो । तर, अचानक सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण-पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट फैलिन सुरु भएको महामारी ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड-१९ नाम दिइएको)का कारण सन् २०२० मा मनाइने भनिएको र सबै तयारी पूरा गरिएको ‘नेपाल भ्रमण वर्ष-२०२०’का सबै कार्यक्रमहरु स्थगित गरियो । फलतः सन् २०२० मा वर्ष २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।

नेपाली पर्यटन व्यवसायीहरुका लागि खुसीको कुरो के छ भने, सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गर्ने प्रतिव्यक्ति दैनिक खर्च र उनीहरुको प्रतिव्यक्ति प्रतिदिन बसाई अवधि भने बढेको छ । केही महिनाअघि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत रहेको पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक २०२० किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाई अवधि १५.१ दिन र प्रतिव्यक्ति, प्रतिदिन खर्च ६५ अमेरिकी डलर रहेको छ ।

यसरी हेर्दा अब हामी नेपालीले हाल विश्वव्यापी रुपमा फैलिएर विश्वका प्रायः सबै देश र ती देशका सर्वसाधारणबीच ‘त्राहीमाम, त्राहीमाम’को अवस्थामा रहेको कोरोनाको महामारी ठीक अवस्थामा फर्किएपछिको अवस्थामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तरलाई कसरी हुन्छ ? सन्तुलन मिलाएर सँगसँगै लानुपर्ने दायित्व आइपरेको छ, हामीमा । कम्तिमा अब हामीले २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाई अवधि जुन १५.१ दिन छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिव्यक्ति, प्रतिदिन खर्च ६५ अमेरिकी डलर जुन छ, सो दर/रेटलाई तत्कालै अरु बढी बढाउन नसके तापनि कायमै राख्ने प्रयास चाहिँ हामीले गर्नैपर्ने देखिन्छ ।

नेपाल आउने विदेशी पर्यटकको तथ्यांकको कुरा गर्दा यो वर्ष सबैभन्दा खराब रहने देखिन्छ । किनभने, २०२१ को १० महिनामा नेपाल आएका विदेशी पर्यटकको तथ्यांक हेर्ने हो भने, जम्मा एक लाख एकसय चानचुन मात्रै आएका छन् । स्मरणीय के छ भने, सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटक संख्या दुई लाख ३० हजार ८५ जना मात्रै भए पनि पर्यटन क्षेत्रबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँ बराबर आम्दानी गर्न सफल भएको छ । यो भनेको तुलनात्मक रुपमा हेर्दा सन् २०१९ को तुलनामा ८० प्रतिशतले बढी आम्दानी भएको हो, समग्र पर्यटन क्षेत्रबाट । त्यसो त सन् २०१९ मा पनि सन् २०१८ को तुलनमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आम्दानी गरेको थियो ।

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु