गृहपृष्ठ छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-६ स्थित सडकमा सूर्यविनायकतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नम्बरको मोटरसाइकलले प्रदेश ३-०१-००३ क. ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल सडकको डिभाडरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे रोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं कलंकी बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका-८ स्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टर आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बस्ने २७ वर्षीय पुष्प बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङ हुँदै झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
बर्दियाको बासगढी नगरपालिका-३ स्कुल चोकमा भे.१० प ५०६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बाँके बैजनाथ गाउँपालिका-६ बस्ने ३५ वर्षीय तिलकराम थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सिन्धुपाल्चोकको चौतारासाँगा चोक गढी नगरपालिका-९ चिहानेमा बा.२ ख ४२८१ नम्बरको ट्रक र बागमती प्रदेश ०२-०३१ प ०५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाह्रबिसे नगरपालिका-३ बस्ने ४५ वर्षीय यज्ञ बहादुर श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २२:२३ बजे




















