गृहपृष्ठ काठमाडौंमा क्लासिक कार र्याली आयोजना, ४२ शीर्षकमा दिइयो पुरस्कार
काठमाडौंमा क्लासिक कार र्याली आयोजना, ४२ शीर्षकमा दिइयो पुरस्कार
काठमाडौंमा शनिबार क्लासिक कार/बाइक र्याली आयोजना भएको छ । उक्त र्यालीमा पुराना गाडीहरुलाई सहभागी गराइएको थियो ।
नेपालमा भने क्लासिक कारहरु एकदमै कम रहेकाले र्यालीमा सहभागी हुन कुनै निश्चित मापदण्ड नतोकिएको आयोजकले जनाएको छ । क्लासिक कार/बाइक नेपालले आयोजना गरेको उक्त र्यालीमा विभिन्न ब्राण्डका गाडीहरुको उपस्थिति थियो । नेपालमा क्लासिक कारहरु कर, पार्ट्सको अभावलगायतका कारण घरमै थन्काएर राख्ने धेरै भएको आयोजक सुबोध दास श्रेष्ठले बताएका छन् । अहिले नेपालमा भिन्टेज कारहरुको संख्या चारदेखि पाँच सय वटा रहेको उनले जानकारी दिए । नेपालबाट एक सय ५० वटा क्लासिक कारहरु भारत, अमेरिकादेखि युरोपसम्म पुगेको बताइएको छ । क्लासिक कार जोगाउन अहिलेको मुख्य चुनौती नै कर भएको उनले बताए । गाडी पुरानो हुँदैमा प्रदूषण नगर्ने भन्दै श्रेष्ठले सरकारले क्लासिक गाडीहरुका लागि सरकार उदार हुनुपर्ने जिकिर गरे । जति मेन्टेन गर्यो त्यति नै राम्रोसँग कुद्ने भएकाले प्रदूषण धेरै नगर्ने उनको भनाइ छ ।
व्यवसायी राजबहादुर शाहले पनि क्लासिक कारहरु संरक्षण गर्न चर्को कर बाधक भएको प्रतिक्रिया दिए । क्लासिक कार पनि हेरिटेज भएको भन्दै सरकारले पुराना गाडीहरुका लागि छुट्टै नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । क्लासिक गाडीको उपयोग पर्यटनदेखि विवाह समारोहहरुमा गर्न सकिने शाहले बताए । त्यसैगरी आयोजक प्रेम कार्थक जिमीले पुराना गाडीहरु घरमा थन्काए बिग्रिने भएपनि यस्ता र्यालीहरु आयोजना भए पुरस्कार जित्ने र मनोरञ्जन पनि हुने भएकाले सडकमा गाडी निस्किने बताए ।

पुराना गाडी निर्माण हुँदा कम्पनीहरुले नाफासँगै गुणस्तरमा पनि उत्तिकै ध्याने दिने भएपनि अहिले कम्पनीहरु नाफा केन्द्रित हुन थालेको उनको दाबी छ । 'नयाँ गाडीहरु राम्रो भएको भए पुराना गाडी थन्किन्थे । तर, त्यसो भएन । पुराना गाडीहरु राम्रोसँग बनेका छन् । दे आर मेड बेटर,' प्रेम कार्थकले भने । क्लासिक गाडीहरु धेरै बिदाको दिन चल्ने भएकाले प्रदूषणको मात्रा धेरै नहुने उनको पनि भनाइ छ । यस्तै, नयाँ गाडी किन्दा निकै महँगो हुने भएपनि क्लासिक गाडीहरु दुई लाख रुपैयाँबाटै सुरु हुने उनले बताए । उनले अहिलेसम्म ६० वटा पुरानो वा थोत्रो गाडीहरु रेस्टोर गरिसकेको बताए । आयोजकले ४२ वटा विभिन्न पुरस्कारहरु सहभागीलाई दिएका छन् । क्लासिक कार नेपालमा झण्डै सात हजार व्यक्तिहरु जोडिसकेको आयोजकले जनाएका छन्।
प्रकाशित समय : १९:४२ बजे



















