गृहपृष्ठ भारतमा सक्रिय संक्रमितहरुको संख्या २०२० को मार्च पछिकै सबैभन्दा कम
भारतमा सक्रिय संक्रमितहरुको संख्या २०२० को मार्च पछिकै सबैभन्दा कम
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका सक्रिय संक्रमितहरुको संख्या धेरै कम देखिएको छ । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या एक लाख ३५ हजार ९८१ रहेको छ ।
'कुल संक्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय संक्रमित रहेका छन्, यो संख्या पछिल्ला ५२२ दिन अर्थात १७ महिना पछिकै सवैभन्दा कम हो,' केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या चार लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । पछिल्लो एक दिनमा नयाँ थपिएका संक्रमित मध्ये छ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन् । भारतमा कोरोनाका कारण अहिले सबैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : २१:३२ बजे



















