काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखरा विमानस्थलको काम छिटो सक्न अर्थमन्त्रीको ताकेता

7.14K
shares

अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य चाँडो सक्न ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने वचनसमेत दिए ।

निर्माणाधीन विमानस्थलको शनिबार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने, ‘काम छिटो सकेर उडान सञ्चालन गर्नका लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन । निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुपर्‍यो ।’ उनले थपे, ‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’

आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाइट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ । त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको छ । यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ किलोमिटर उत्तरमा रहेको ल्याण्डफिल साइड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान सञ्चालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ ।

‘आइकाओ क्याटागोरी’को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मे २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो । चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि २०३२ सालमै ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३ हजार ८९९ रोपनी रहेको छ ।

निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।