आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा बोगटीको नियुक्ति बदर
वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:५०
shares

सर्वोच्च आदालतले नेपाल आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति बदर गरेको छ । बिहीबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले ११ माघ २०७७ मा भएको नियुक्ति बदर गरेको हो । बोगटीको मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरीत र स्वेच्छाचारीपूर्ण देखिएको इजलासको ठहर छ ।
विज्ञ सदस्यमा नियुक्त बोगटीको शैक्षिक योग्यता एसएलसी पास छ भने रुलर वाटर सप्लाई एण्ड स्यानिटेसन फण्ड डेभलोपमेट बोर्डको सदस्य तथा खप्तड क्षेत्र पर्यटकीय विकास समितिको अध्यक्ष भई काम गरेको अनुभव देखाइएको छ । तर संयुक्त इजलासले यसलाई आयल निगम सञ्चालक समितिको विज्ञ सदस्य हुने चाहिने ज्ञान र अनुभव भएको मान्न नसकिने बताएको छ । न्यूनमत बाञ्छनीय योग्यता नभएका व्यक्तिको मनोनयनबाट सार्वजनिक संस्थानहरुको संचालन र व्यवस्थापनमा कुनै सकारात्मक योगदान नहुने इजलासले बताएको छ ।

























