गृहपृष्ठ सुदूरपश्चिममा नेकपा (एस) मा १३ सांसदले गरे सनाखत
सुदूरपश्चिममा नेकपा (एस) मा १३ सांसदले गरे सनाखत
सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा थप तीन जना सांसदले सनाखत गरेका छन् । आइतबार क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा नेकपा एमाले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा थप तीन जनाले सनाखत गरेका हुन् । सनाखत गर्नेमा पूर्वएमाले प्रमुख सचेतक तारालामा तामाङ, भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल हुन् ।
योसँगै नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्नेको संख्या १३ पुगेको निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । यसअघि सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकासराज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका थिए ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
प्रकाशित समय : १३:१८ बजे


















