गृहपृष्ठ आमासँगै बालबालिका पनि संक्रमित
आमासँगै बालबालिका पनि संक्रमित
साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन् ।
लोग्नेले घर छाडेपछि सुरु भएको महामारीले अन्ततः परिवारलाई नै संक्रमित बनायो । बागलुङ नगरपालिका-१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ संक्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन् । उपाय केही नभएपछि उनले संक्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन् । होम आइसोलेशनमा बसेकी ती महिलाले आफै खाना पकाएर छोराछोरीलाई खुवाउँछिन् । 'पाँच वर्षको छोरो अरुसँग बस्नै मानेन्, आठ वर्षकी छोरी पनि मसँगै छ,' उनी भन्छिन् 'आफूलाई संक्रमण पुष्टि भएपछि गाउँलेले पनि सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावस आफैँसँग राख्नुप..यो ।' एक साता अघि उनलाई संक्रमण पुष्टि भए पनि त्यसयता सँगै बसेका बालबालिकाको जाँच गराइएको छैन ।
ती महिलाका छोराछोरीलाई कोरोनाको जाँच गर्न बोलाइए पनि उनीहरू अहिलेसम्म आउन नसकेको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्मा बताउछन् ।
परिवारका अन्य सदस्यसहित जैमिनी नगरपालिका-१ की अर्की एक महिला पनि कोरोना संक्रमित छिन् । नगरपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बस्दै आएकी उनी, उनका वृद्ध सासू, चार वर्षकी छोरी र ११ वर्षका छोरा पनि संक्रमित भएका हुन् तर श्रीमानको भने कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ । पाँच जनाको परिवारमा चार संक्रमित छन् । ती महिला र उनकी सासूलाई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि छ । आफूहरुको स्वास्थ्यमा समस्या भएका कारण केही होला की भनेर आफूसहित छोराछोरीलाई पनि आइसोलेशनमा राख्नु परेको उनको भनाइ छ ।
छोराछोरीमा कडा खालको लक्षण त छैन तर घरमा कोही नभएका कारण सबैजना अस्थायी कोभिड अस्पतालमा बसिरहेका छन् । 'आमा वा हजुरआमासँग जस्तो परिवारका अरु सदस्यसँग कहाँ बस्न मान्छन् र छोराछोरी' उनले भनिन् 'सँगै बसेका छौं, खाना अस्पतालले दिन्छ, अरु सुसार आफैँले गर्दै आएकी छु ।' कोरोना महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा महिला र बालबालिकालाई धेरै असर पारेको छ । आमा संक्रमित हुँदा बालबालिकालाई आइसोलेशनको समय समय कटाउन निकै कठिन हुने गरेको छ । आमा संक्रमित हुँदा बालबालिका पनि संक्रमित हुने खतरा बढिरहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।
'महामारी कठिन समय हो, यो बेलामा सबैमा मानसिक असर पनि परेको हुन्छ' धौलागिरि अस्पतालका मानसिक रोग विषेशज्ञ डा. धीरेन्द्र पौडेल भन्छन्, 'बालबालिकाका लागि न अस्पतालका आइसोलेशनमा छुट्टै व्यवस्था गर्न सकिएको छ नत होम आइसोलेशनमा नै । त्यसैले बिरामीमा शारीरिकभन्दा पनि मानसिक समस्या बढी देखिन्छ ।' (रासस)
प्रकाशित समय : १८:२६ बजे



















