‘देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्, केपी शर्मा ओलीकाे पक्षमा छन्’
वि.सं.२०७८ साउन १० आइतवार २०:४९
shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ)को सचिवालयको प्रथम बैठकलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । 'बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ । पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, केपी शर्मा ओलीकाे पक्षमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो,' उनले भने ।
उनले भने, 'राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।' अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए ।
'एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै,' उनले भने, 'न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगतकाे ठूलो सहयोग जरुरी छ ।'

























