Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

स्वदेशलाई धिक्कार्दै भारततर्फ

दिनेश बिष्ट धनगढी साउन ८, २०७८       

स्वदेशलाई धिक्कार्दै भारततर्फ

कोरोना संक्रमणको दोस्रो लहरमा केही कमी आए पनि भारतमा तेस्रो लहरको संक्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागि भारत जानेहरुको भीड भने घटेको छैन । सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टामा रोजगारीका लागि भारत जाने नेपालीहरुको लाम उस्तै छ । दैनिक हजारौँको संख्यामा भारत गइरहेका नेपालीलाई कोरोनाभन्दा पनि भोकको चिन्ता बढी छ । 

कोरोना संक्रमणको पहिलो चरणमा हजारौँको संख्यामा दैनिक स्वदेश फर्केका नेपालीहरु अहिले फेरि रोजगारी खोज्दै भारत पसिरहेका छन् । त्यो बेला लाइन लागेर भारतीय नाकाबाट स्वदेश फर्केका नेपालीहरु अहिले लाइन लागेरै भारत पसिरहेका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा बढी भोकै मर्ने डरले पिरोलिरहेको छ । कोरोना त्रासकै कारण स्वदेश फर्केका नेपालीहरु अहिले घर परिवार पाल्नकै लागि भारत पसिरहेका हुन् । कैलालीसँग जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर अहिले हजारौँ नेपालीहरु भारत पसिरहेका छन् ।

कैलालीको लम्की चुहा नगरपालिकाका अम्मर न्यौपाने बुधबार रोजगारीकै लागि भारत जान गौरीफन्टा नाकामा लामवद्ध थिए । करिब २ हजार नेपालीको लाइनमा भेटिएका उनी घरखर्च चलाउनकै लागि भारत जान लागेको बताउँदै थिए । ‘भारतमा कोरोना बढेपछि गत चैतमा घर फर्केको थिएँ । चार महिना घरमै बिताएँ । आम्दानीभन्दा पनि कमाएको पैसा सबै सकियो । अरु विकल्पै भएन । अन्तमा भारत नै हाम्रो गन्तव्य हो,’ अधवैंशे उमेरका न्यौपानेले कथा-व्यथा सुनाए । १५ वर्ष भारतमै बिताइसकेका उनले बुढेसकालमा घरमै बस्ने रहर भएर पनि बाध्यताले मुग्लान डोरिनु परेको दुखेसो सुनाए ।

पछिल्लो ५ दिनको अवधिमा कैलाली र कञ्चनपुरका नाकाहरुबाट मात्रै १२ हजारभन्दा बढी नागरिकहरु रोजगारीका लागि भारत पसेका छन् । बुधबार मात्रै गौरीफन्टा र गड्डाचौकी नाकाबाट दुई हजार ५ सय बढी नागरिक भारततर्फ गएको प्रशासनको तथ्यांक छ । रोजगारीका लागि भारत पस्नेहरु कोही परिवारसहित छन् त कोही परिवार पाल्नकै लागि । 

बुधबार नै गौरीफन्टा नाकामा डडेल्धुराका टेक बहादुर बम पनि भारत जानकै लागि लाइनमा बसेका थिए । सञ्चारकर्मीहरु अन्य व्यक्तिहरुसँग कुराकानी गरिरहँदा उनी पनि आक्रोश पोख्न तम्सिए, ‘हामी कहाँ जाने त ? कसले हामीलाई रोजगारी दिन्छ ? नेपाल सरकारसँग हामीलाई रोजगारी दिने क्षमता नै नभएर हो ?’ नेताहरुले ‘रोजगारी दिन्छौँ’ भनेर गफ मात्रै दिएको बमले गुनासो पोखे । भारतबाट कमाएर ल्याएको पैसा सकिएपछि फेरि भारततिरै जानुको विकल्प नभएको उनले बताए ।

बैतडीका प्रकाश सिहं कार्की पनि भारत जान गौरीफन्टा नाका आइपुगेका थिए । विद्यालय पढ्ने उमेरका उनी कमाउनका लागि भारत पस्दै थिए । उनी दोस्रोपटक भारत जाँदै गरेका रहेछन् । ‘घरमा आमा, भाइ बहिनी छन् । उनीहरुलाई पाल्न मैले बिचमै पढाई छाडेर भारत पसेको हुँ,’ उनले बाध्यता सुनाए, ’परिवारको जिम्मा मेरै टाउकोमा छ, त्यसैले पनि मैले नकमाई हुन्न ।’

रोजगारीका लागि भारत पस्ने नागरिकहरुको मुहारमा खुसी नभई बाध्यता झल्कन्थ्यो । मातृभूमि र परिवार जति नै प्यारो भए पनि बाध्यताले टाढिनु परेको उनीहरुको भनाइ थियो । कोरोना कहरले स्वदेश आएका उनीहरु स्वदेशमै केही गर्न चाहे पनि त्यो सम्भावना नदेखेपछि फेरि भारतकै बाटो रोजेका हुन् ।

२५ वर्षदेखि भारतमै रोजगारी गरिरहेका अछामका मान बहादुर क्षेत्री पनि भारत जानकै लागि गौरीफन्टा नाका पुगेका थिए । ‘भारतमै कमाएको पैसाले परिवार पालेको छु । यतिका वर्षसम्म त मलाई कसैले नेपालमा जागिर दिएन, अब के दिन्थे !’

भारतबाट स्वदेश फर्केका सबैलाई नभए पनि केहीलाई पहिलो चरणमा रोजगारी दिने सरकारले उद्घोष गरेको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । स्वदेशमै रोजगारी पाउने आशासहित स्वदेश फर्केका उनीहरु अततः भारततिरै लागेका छन् ।

सम्बन्धित खबरहरु