गृहपृष्ठ श्रमजीवी-पत्रकार संघ नेपालको स्थापना
श्रमजीवी-पत्रकार संघ नेपालको स्थापना
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा श्रमजीवी-पत्रकार संघ, नेपाल नामको संगठन दर्ता गरी औपचारिक रुपमा संस्थागत उद्देश्य र मान्यतासहित स्थापना भएको छ । श्रमजीवी पत्रकार तथा सञ्चार श्रमिकहरुको श्रमको उचित समान, पेशागत सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मुद्दा र एजेण्डासहित अघि बढ्न प्रचलित ट्रेड यूनियन अधिकारको प्रयोग गर्दै उक्त संघको स्थापना गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
'यहाँहरुलाइ अवगतै छ, सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित छैन । यो पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने उद्देश्यले स्थापित श्रमजीवी-पत्रकार संघ, नेपाल पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था हो,' जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगारमुखी सञ्चारर्मीदेखि ठूला कर्पोरेट मिडियामा श्रम गर्नेको हितमा काम गर्न यो संस्थाको जन्म भएको संघले जनाएको छ । श्रमजीवीको सुरक्षाका साथै आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षा लागि आवाज बुलन्द गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष जन्मदेव जैशीले बताए ।
पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीको हकहितको प्रवर्द्धनका लागि यसअघि यस्ता संस्थाको विद्यमानता रहे पनि त्यस्ता संस्थाबाट पीडित सबै श्रमजीवीलाई न्याय दिलाउन पहलकदमी नलिएकाले यस संघको आवश्यकता खट्केको उनको भनाइ छ । संस्थाले कुनै पनि पीडित श्रमजीवीलाई न्यायका लागि लड्दालड्दै थाकेर मुद्दा छोड्नुपर्ने अवस्था आउन नदिने संकल्प लिएको छ । संघद्वारा जारी विज्ञप्तमा लेखिएको छ,' समयमै न्याय दिलाउन, सबै श्रमजीवीले समयमै न्याय पाउने अवस्थाका लागि निरन्तर लागिरहने बाचा गर्दै राज्यबाट सबै सुविधा लिने तर श्रमजीवीलाई पारिश्रमिक नदिने कथित ठूला कर्पोरेट मिडियालाई तत्काल कानुनको दायरामा ल्याउने काम पनि यस संस्थाले गर्नेछ ।' सबै सञ्चार अभियन्तारुलाई एकतावद्ध र सहर्कायका लागि संघले आव्हानसमेत गरेको छ ।
प्रकाशित समय : १९:०९ बजे



















