Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पाको टोली सगरमाथाको आधार शिविरमा

न्युज कारोबार काठमाडौं वैशाख २५, २०७८       

विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पाको टोली सगरमाथाको आधार शिविरमा तस्बिर स्रोत : सेभेन समिट ट्रेकको फेसबुक पेज ।

वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर आइपुगेको हो ।

सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको आरोही समूहलाई आधार शिविरमा स्वागत गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन् ।

आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली छ । विशिष्ट विदेशी पाहुनाको यो आरोहणलाई निकै महत्वका साथ लिइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कूलबहादुर गुरुङले सगरमाथाको विशिष्ट पाहुनाबाट हुन लागेको आरोहणले विश्वभर सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।  डोरी टाँग्ने समूहपछि पहिलो आरोहण बहराइनको टोलीले गर्न लागेको जनाइएको छ । बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आरोहणमा निस्किएको हो । आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् । (रासस)

सम्बन्धित खबरहरु