गृहपृष्ठ तोकिएको भन्दा तीन गुणा बढी बसभाडा लिने ७ जना पक्राउ
तोकिएको भन्दा तीन गुणा बढी बसभाडा लिने ७ जना पक्राउ
महानगरीय ट्राफिक महाशाखाले यात्रु ठगी गर्ने ७ जनालाई पक्राउ गरेको छ । महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्ला जानुपर्ने यात्रुसँग तोकिएकोभन्दा तीन गुणा बढी भाडा लिने काउन्टरका कर्मचारीलाई कलंकी र बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सावित्रा काउन्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने ५३ वर्षीय मनु अर्याल र उनकै छोरा वर्ष ३० को अनु अर्याललाई पक्राउ गरेको छ । त्यस्तै नारायणी यातायात काउन्टरका टिकट बुकिङ स्टाफ हेटौडाका ३८ वर्षीय नवराज घिमिरे, कुलेश्वर बस्ने ४४ वर्षीय बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ ईन्चार्ज सुन्धाराका ४९ वर्षीय ज्ञानेन्द्र साहसमेत बढी भाडा लिएको कसुरमा पक्राउ परेका हुन् ।
उनीहरुले धनुषा, महोत्तरी र बीरगञ्ज जाने यात्रुहरु संकलन गरि प्रति व्यक्ति पच्चीस सयदेखि तीनहजारसम्म भाडा लिने गरेको प्रहरीले जनाएको छ । तोकिएको भन्दा करिब तीन गुणा बढी भाडा असुल गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरी गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.लि.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरीराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम बढेको देखिन्छ । निषेधज्ञा लागू भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आएकाहरुसँग आफूखुशी बढी भाडा लिने १६ जनालाई पक्राउ गरेर कारबाही भइसकेको छ ।
प्रकाशित समय : २२:०३ बजे




















