गृहपृष्ठ एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ कार्यक्रम सुरू
एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ कार्यक्रम सुरू
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमणको महामारीबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको शुभारम्भ भएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा महासंघ छ । हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा सञ्चालन गरिएको हो । जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अनकलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् ।
हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य आइतारबाट सुरु हुनेछ । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टरमार्फत भरपुर सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइवरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्याइएको छ ।
नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ । तत्पश्चात् डाक्टरहरूले भिडियो कलमार्फत् बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्नेछन् ।
रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्यअनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।
हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्वतासमेत अध्यक्ष गोल्छाले जनाएका छन् ।
मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम् कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ सबैमा गम्भीर आग्रहसमेत गर्दछ ।
प्रकाशित समय : २०:४९ बजे


















