विदेश जान लागेका १२२ जना विमानस्थलबाटै फर्काइए
वि.सं.२०७८ वैशाख ८ बुधवार १९:३८
shares

काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिको पीसीआर परीक्षण रिपोर्ट लिएर विभिन्न मुलुक जान लागेका १२२ यात्रुलाई फिर्ता पठाइएको छ । उक्त ल्याबमाथि छानबिन भइरहेकाले ल्याबको रिपोर्ट लिएर विदेश जान लागेकाहरुलाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।
उनका अनुसार फर्काइएको यात्रु नेपाली र भारतीय नागरिक हुन् । उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए । एयर अरेबियाका ५४, जजिरा एयरका ३६ र सलाम एयरका ३२ जनालाई फर्काइएको हो । यीमध्ये ७२ जना नेपाली, ४९ जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन् ।
उक्त ल्याबले स्वाब नै जाँच नगरी पीसीआर नेगेटिभ भएको रिपोर्ट दिने गरेको पाइएको भन्दै मंगलबारमात्रै महानगरीय अपराध महाशाखाले छापा मारेको थियो । सो क्रममा ल्याबका सञ्चालकसहति ८ जनालाई पक्राउ परेका छन् । उक्त ल्याबमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

























