वन क्षेत्रमा सबैभन्दा बढी आगलागी हुने जिल्लाको हालत यस वर्ष पनि उस्तै
वि.सं.२०७८ वैशाख २ बिहीवार १८:४७
shares

कैलालीमा ठूलो वन क्षेत्र आगलागीको चपेटामा परेको छ । जिल्लाभर हालसम्म ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय धनगढीको तथ्यांक छ । वन कार्यालयका अनुसार चुरे र तराईका वनमा दर्जनौँ ठाउँमा अहिले पनि आगलागी भइरहेको छ ।
वनमा डढेलो फैलँदै गए पनि सम्बन्धित निकायहरूबाट आगलागी नियन्त्रणका प्रयासहरू भएका छैनन् । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सबैभन्दा बढी चुरेको वनमा आगलागी भइरहेको बताए । चुरेको आगलागी अहिले पनि नियन्त्र भएको छैन । चुरेसँग जोडिएका तराईका वनमा पनि आगलागीका घटना बढेका छन् ।
चुरेसँगै जैविक विविधताले महत्वपूर्ण मानिने वसन्ता जैविकमार्ग र घोडाघोडी सीमसार क्षेत्रको वनका दर्जनौँ ठाउँमा आगलागी भएको छ । संरक्षणकर्मी हिरूलाल डगौराले घोडाघोडी सीमसार क्षेत्रमा पर्ने वनमा आगलागी बढेको बताए । चुरे वन र भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको वसन्ता जैविकमार्गका कैयौँ ठाउँमा आगलागी भएको उनले बताए । वसन्तामा एकपटक आगलागी भएर त्यही ठाउँमा पुनः अर्कोपटक आगलागी भइरहेको स्थानीयले बताएका छन् ।
आगलागीले स-साना विरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन् । वन्यजन्तु र चराचुरुंगी लोप हुने अवस्थामा पुग्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । ‘बर्सेनि बढ्दो आगलागीका कारण चराचुरुंगी लोप हुने अवस्थामा पुगेका छन् । वन क्षेत्र सखाप हुँदै गएको छ,’ संरक्षणकर्मी डगौराले भने, ‘सीमसार, जैविक मार्गजस्तो संवेदनशील वन क्षेत्र आगलागीको चपेटामा परेको छ ।’ आगलागी नियन्त्रणका लागि प्रभावकारी प्रयास नभएको संरक्षणकर्मीहरुको भनाइ छ । कतिपय ठाउँमा सामुदायिक वनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि राष्ट्रिय वनमा लागेको आगो निभाउने प्रयास कतैबाट भएको छैन । साधनस्रोत र जनशक्तिको अभावले वनमा लागेको आगो निभाउन समस्या भएको वन कर्मचारीले बताएका छन् ।
अग्नि नियन्त्रण गर्ने तालिमप्राप्त जनशक्ति नभएको डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत डबल बोहराले बताए । आवश्यक स्रोतसाधनहरू पनि पर्याप्त नरहेको उनको भनाइ छ । ‘हामीसँग तालिमप्राप्त जनशक्ति छैन । ‘स्थानीय उपभोक्ता, सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छौँ,’ उनले भने । डिभिजन वनसँग दमकल र पानी बोक्ने ट्रयाक्टर नरहेको उनले बताए । सोमबार मात्र जिल्लाभर विभिन्न वन क्षेत्रमा एक दर्जनभन्दा बढी ठाउँमा आगलागी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार दुई दिनअघि तीन दर्जनभन्दा बढी ठाउँमा आगलागी भइरहेको थियो ।
आगलागीका कारण मानवीय त्रुटि र गलत बुझाइ
डिभिजन वन प्रमुख कँडेलले मानवीय त्रुटि र गलत बुझाइका कारण आगलागी हुने गरेको बताए । ‘नजानेर, नबुझेर वनमा आगो लगाउने चलन छ । डढेलोपछि घाँस पलाउँछ र गाईभैँसी चराउन सजिलो हुन्छ भन्ने गलत बुझाइ आगलागीको अर्को कारण हो,’ उनले भने, ‘सिकारीले चोरी–सिकारी गर्न सहज होस् भनेर पनि आगो लगाउँछन् ।’
आगलागीले वन र वन्यजन्तु विनाशमा ठूलो असर गर्ने कँडेलले बताए । पानी नपर्दा भएको खडेरीले यस वर्ष आगलागी बढेको हो । पानी नपरे वैशाख-जेठसम्म वनमा आगलागी अझै बढ्ने देखिन्छ । एक लाखभन्दा बढी वन क्षेत्र रहेको कैलाली गर्मी याममा देशभरमै वनक्षेत्रमा सबैभन्दा बढी आगलागी हुने जिल्लामा पर्छ ।

























