गृहपृष्ठ अनलाइन कक्षाले सबैलाई समेट्न असम्भव छ, तत्काल विद्यालय बन्द नगराैं : प्याब्सन
अनलाइन कक्षाले सबैलाई समेट्न असम्भव छ, तत्काल विद्यालय बन्द नगराैं : प्याब्सन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको प्याब्सनले जनाएको छ ।
निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि भौगोलिक, अभिभावकको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता आदिका कारण ५० प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न नसकेको विगतको लकडाउनबाट पुष्टि भएको आइतबार विज्ञप्ति जारी गर्दै प्याब्सनले बताएको छ ।
प्याब्सनले विज्ञप्तिमा भनेकाे छ, ‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरीअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौं ।'
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने, संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने अवस्था आए सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरे पनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा माग गरिएकाे छ ।

प्रकाशित समय : २०:४७ बजे



















