nmb bank

गृहपृष्ठ ‘नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महत्त्वपूर्ण योगदान’

‘नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महत्त्वपूर्ण योगदान’

‘नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महत्त्वपूर्ण योगदान’

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महुत्त्वपूर्ण योगदान रहेको बताइएको छ । ग्लोरी मिडिया र न्यूज लाइन्स मिडियाले आज यहाँ आयोजना गरेको ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मी प्राकृतिक भोजन’ कार्यक्रमका वक्ताहरूले नेपालको रैथाने खानामार्फत पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताएको हो ।

कार्यक्रममा अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल शाखाका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

“नेपाली रैथाने खानालाई सही ढङ्गले ‘ब्रान्डिङ’ गर्न सकियो भने यसले अन्तरराष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ”, उनले भने । घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घकी पूर्वअध्यक्ष  रविना थापाले नेपाली रैथाने खाना मानव स्वास्थ्यका लागि लाभदायी भएको बताए । “आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ”, उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको भन्दै त्यसलाई प्रवर्द्धन गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्‍याउने बताए ।

वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए । सोफा उत्पादक सङ्घका अध्यक्ष तारालाल धरेलले रैथाने खानालाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने बताए ।

रैथाने खानाका अभियन्ता तिलक ढकालले रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताए । न्यूजलाइन्स मिडियाकी सम्पादक सरिता ढकालले रैथाने खाना, प्राकृतिक भोजन तथा यसको व्यावसायिक सम्भावनाबारे निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्‍याउनुभएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोखरेल, वरिष्ठ सेफ मोहन गजुरेल, सेफ्स एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष रेशम लामा तामाङ र अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ द्वारा सम्मानित गरिएको थियो ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु