प्रतिनिधिसभा बैठक चैत्र ३ गतेसम्मका लागि स्थगित
वि.सं.२०७७ फागुन २६ बुधवार १९:३३
shares

बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिलागरी सुरू भएको थियो । आजको बैठकमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएकाे हाे ।
बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
आजका लागि विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची थियो । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । आगामी बैठक चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

























