global ime bank Long Banner Ad

गृहपृष्ठ उत्पादित वस्तुले बजार नपाएको उद्यमीको गुनासो 

उत्पादित वस्तुले बजार नपाएको उद्यमीको गुनासो 

उत्पादित वस्तुले बजार नपाएको उद्यमीको गुनासो 

उत्पादित वस्तुहरुले बजार नपाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उद्यमी महिलाहरुले आफूहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा समस्या भएको बताएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी उद्यमी महिलाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी वीरेन्द्रनगर १२ की उद्यमी तुलसी बुढाथोकीले बजार व्यवस्थापन सम्बन्धि नीति निर्माण गर्नका लागि कर्णाली प्रदेश सभालाई आग्रह गरेकी छन् । ‘मैले च्याउ खेती गर्छु,’ उनले भनिन्, ‘बजार नपाएपछि २० केजी च्याउ सुकेर तीन केजी भएको छ ।’ उद्यमीहरुलाई उद्यमशीलताको तालिम सँगसँगै बजार व्यवस्थापनसमेत गर्नुपर्ने उनले बताइन् । कर्णालीको उत्पादन कर्णालीमा पनि प्रयोगका लागि नीति बनाउन आवश्यक भएको उनले बताइन् ।
 
उद्यमी शान्ता शर्माले कच्चा पदार्थ बाहिरबाट ल्याउँदा निर्माण गरिने सामाग्री महँगो हुने हुँदा बिक्रीमा समस्या हुने बताइन् । कच्चा पदार्थहरुको व्यस्थापन यतै गरिदिने अवस्था भएको खण्डमा उद्योगबाट फाइदा हुने उनले सुनाइन् । अगरबत्ती उत्पादनको काम गर्दै आएकी शर्माले बजार व्यवस्थापनको लागिसमेत सरकारी तवरबाट काम गरिनुपर्ने बताइन् । कार्यक्रममा सहभागी अधिकांश सहभागीहरुले उद्यमीलाई सहज रुपमा ऋणको उपलब्धता, तालिम, बजार व्यवस्थापन र नयाँ प्रविधिमा जोड्नुपर्ने बताएका थिए ।
     
आइतबार कर्णाली प्रदेश सभा सामाजिक विकास समिति तथा संसद सहयोग परियोजना (युएनडीपी) ले उद्यमी महिलाहरुसँग अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । श्रमिक महिलाहरुलाई दिवससँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले बताइन् । श्रमिक महिला दिवसको मर्म नै श्रमिकका समस्या सुन्ने र सोही बमोजिम नीति निर्माण गर्नु भएको भन्दै ओलीले सोही बमोजिम नीति निर्माणमा सहायता पुगोस् भन्ने हेतूले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । आगामी बजेटमा उद्यमी महिलाका लागि कस्तो बजेट ल्याउने भन्ने कुरामा समेत कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् । ‘नीतिमा केही थपघट गर्नुपरे गर्छु,’ उनले भनिन्, ‘तर बढीभन्दा बढी महिलाहरु उद्योगसँग जोडिनुपर्छ ।’ आर्थिक रुपमा महिलाहरु सक्षम नभएसम्म कुनै पनि हालतमा दिवसले सार्थकता नपाउने तर्क गरिन् ।

कार्यक्रममा बोल्दै सांसद पद्मा खड्काले उद्यमी महिलाहरुले कार्यक्रममा राखेका विभिन्न समस्याहरुलाई संसद बैठकमा राख्ने बताइन् । उनले नीतिगत सुधारमा समेत आफूहरुको ध्यान गएको बताइन् । संसद सहयोग परियोजना (यूएनडीपी) का फिल्ड अफिस प्रमुख रफिम सिद्धिकीले उद्यमी महिलाहरुलाई विभिन्न मेसिन तथा औजार र तालिमहरु दिँदै आएको आवश्यकता परेको खण्डमा सहयोग गर्न सकिने प्रतिवद्धता व्यक्त गरे । अन्र्तनिर्भर समाजमार्फत् उद्यमी महिलाहरुलाई बीऊ, औजार, पूर्वाधारमा समेत सहयोग गरेको भन्दै आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सकिने उनले बताए । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख मुकुन्दनाथ गिरीले महिलाहरुका नाममा उद्योग दर्ता गर्दा थुप्रै अवसरहरु प्राप्त गर्न सकिने बताए । 

बैंकले ऋण दिने, करमा छुट लगायतका कुरामा सहज हुने उनले तर्क गरे । कार्यक्रममा प्यानल छलफलसमेत भएको थियो । जसमा कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओली, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख मुकुन्दनाथ गिरी, नेपाल बंैक लिमिटेडका प्रमुख गणेश खत्री र संसद सहयोग परियोजनाका फिल्ड अफिस प्रमुख रफिम सिद्धिकी रहेका थिए । 

प्रकाशित समय : १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु