गृहपृष्ठ नेकपा नाम विवाद : सर्वोच्च अदालतले गर्यो ऋषि कट्टेलको पक्षमा फैसला
नेकपा नाम विवाद : सर्वोच्च अदालतले गर्यो ऋषि कट्टेलको पक्षमा फैसला
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार त्यस्तो फैसला सुनाएको सर्वोच्च अदालतले जनाएको छ ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । निर्वाचन आयोगले सोही नामलाई मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सर्वोच्चको फैसलाअनुसार अब कट्टेल नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुनेछ । यस फैसलासँगै सत्तारूढ दलको विवादमा भने कानुनी जटिलता थपिने भएको छ । आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षले आफ्नो समूह नै आधिकारिक रहेको दाबी गरिरहेका छन् । यससम्वन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।
प्रकाशित समय : २०:५२ बजे



















