गृहपृष्ठ क्लासिक टेकको नेसनल ब्याकबोनमा क्षति पुर्याउने पूर्वकर्मचारी पक्राउ
क्लासिक टेकको नेसनल ब्याकबोनमा क्षति पुर्याउने पूर्वकर्मचारी पक्राउ
इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याइएको इन्टरनेट सेवाका लागि प्रयोग हुने मुख्य डिभाइस तोडफोड गर्ने पूर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको निजगढमा कार्यरत पूर्वकर्मचारी किरण तिमल्सिनालाई क्लासिक टेकको मुख्य इन्टरनेटको कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डेटा सेन्टरका तार निकालेको र अप्टिकल फाइबरलगायतका तार काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
तिमल्सिनाको कदमका कारण बुधबार ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखामा सेवा अवरुद्ध भएको थियो । हाल काटिएका अप्टिकल फाइबर मर्मत गरेर सेवा सञ्चालन भइसकेको क्लासिक टेक मुख्य कार्यालयले जनाएको छ ।
पूर्वकर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेसनल ब्याकबोन नै डाउन गराएका थिए । जसले गर्दा भारतबाट वीरगञ्ज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिंक डाउन भएको थियो । यसले मुख्यगरी बैंक तथा वित्तीय संस्थाको सेवा अवरुद्ध हुनुका साथै सरकारी निकायको इन्टरनेट तथा अन्य ग्राहकको सेवामा असर पुगेको थियो । ‘पिक टाइम’मा सेवा बन्द हुँदा कम्पनीलाई समेत निकै हानी‑नोक्सानी भएको छ ।
पूर्वकर्मचारी तिमल्सिना पुरानो परिचय पत्र देखाएर विद्युत प्राधिकरणको कार्यालयमा प्रवेश गरेको बताइएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय सिमरा बाराको प्रहरी हिरासतमा राखिएको छ ।
इन्टरनेट सेवामा अवरोध गरे अत्यावश्यक सेवा ऐनअनुसार कारबाही हुने व्यवस्था छ । त्यसैगरी, दूरसञ्चार ऐन २०५३ अन्तर्गतसमेत कारबाही हुनसक्ने प्रहरीले जनाएको छ । दूरसञ्चार ऐनको दफा ४७ को उपदफा ५ अनुसार ‘कुनै व्यक्तिले बदनियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा सोसँग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी‑नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी‑नोक्सानीको बिगोबमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।’
प्रकाशित समय : १६:४८ बजे
















