गृहपृष्ठ सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने सरकारको योजना
सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने सरकारको योजना

काठमाडौं–सरकारले सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउने भएको छ ।
सबै लगानीकर्तालाई करको दायरामा ल्याउन अर्थ मन्त्रालयले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गर्न लागेको छ ।
हाल सेयर किनबेच गर्दा व्यक्तिगत ५ र संस्थागत १० प्रतिशत पुँजीगत लाभकर मात्र तिरे पुग्ने व्यवस्था छ । अब लगानीकर्ताले पुँजीगत लाभकरको अतिरित्त सेयर कारोबारबाट भएको कमाईको आफैले मूल्याँकन गरेर सोही अनुसार वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो ।
सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन प्यान लिनुपर्ने व्यवस्था गर्न लागेको अर्थ मन्त्रालयका राजश्वसचिव शिशीर ढुङानाले बताए । सेयर लगानीकर्तालाई प्यान अनिवार्य लिने व्यवस्था कार्यान्वयनका लागि आन्तरिक तयारी भइरहेको उनले जानकारी दिए । सरकारले यस विषयमा छिट्टै निर्णय गर्ने ढुङानाको भनाई छ ।
कर कार्यलयले ब्रोकर कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) निर्धारण गरी तिर्नलाई धमाधम पत्राचार गरिरहेका बेला सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउन लागेको हो ।
धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य गर्ने योजना ल्याएपछि लगानीकर्ताले विरोध गरेका थिए । लगानीकर्ताको विरोध भएपछि पछि बोर्ड पछि हटेको थियो । यता अर्थले नै प्रक्रिया थालेपछि प्यान अनिवार्य हुन लागेको हो ।
सेयर बजारमा १४ लाख बढी लगानीकर्ता भएको अनुमान गरिएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्ने योजना सार्वजनिक गरेको थियो ।
सरकारले करको दर भन्दा पनि प्रणालीलाई सुधार गरेर दायरामा ल्याउन प्रयासअन्र्तगत लगानीकर्तालाई पनि कर तिराउन लागेको हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व उठाउदै छ ।
प्रकाशित समय : २२:४५ बजे