global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ निगमकाे तेलमा यसरी हुन्छ ठगी

निगमकाे तेलमा यसरी हुन्छ ठगी

निगमकाे तेलमा यसरी हुन्छ ठगी

१२ हजार लिटरको बिल, तेल साढे ११ हजार लिटर मात्रै

डोटी-नेपाल आयल निगम डिपोबाटनै तोकिएको भन्दा कम परिमाणको तेल आउने गरेको पाइएको छ।

“म प्रत्येक पटक पेट्रोल उठाउँदा छ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु । आयल निगमले पनि छ हजारकै बिल बनाउँछ”, दिपायल सिलगढी नगरपालिका–५ स्थित एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले भने, “तर प्रत्येक पटक हामीले डिप लिँदा २०० देखि ३०० लिटर कम आउँछ जुन रकममा ठूलै हुन आउँछ ।” यस्तै समस्या डिजलमा पनि रहेको तर पेट्रोलमा बढी रहेको उनले बताए।

अछाम साँफेबगरस्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरले आफूले उठाउने १२ हजार लिटरमा निरन्तर ५०० लिटर बाटामै हराउने बताए। उनले भने, “लैजाँदा १२ हजारको रकम तिरेर लैजान्छौं तर हाम्रो ट्यांकीमा ११ हजार ५०० भन्दा बढी झर्दैझर्दैन ।”

निगमका कर्मचारी र ट्यांकरका चालकको मिलेमतोमा यस्तो समस्या आइरहेको व्यवसायीको आरोप छ । “आयल निगमकै कर्मचारी नै ट्यांकरका चालकसँग मिलेका हुन्छन् । बाटोमै बेचेर हामीलाई कम तेल थमाउँछन्”, व्यवसायी भण्डारीले भने, “आयल निगमले तापक्रमको समस्यालगायतका अनेकन प्राविधिक समस्या देखाएर हामीलाई बाध्य पार्छन् ।”

निगम शाखा कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदनसमेत दिइएको व्यवसायी भण्डारी बताउँछन् । “पटक पटक निवेदन दिएको छु । जानकारी गराएको छु, कुनै प्रतिक्रिया नै आउँदैन”, उनले भने । निरन्तर समस्या आउन थालेपछि उनले दुई सातायता पेट्रोलको माग गरेका छैनन् जसले गर्दा डोटीमा पेट्रोलको हाहाकार शुरु भएको छ । भण्डारीको पेट्रोल पम्प डोटीको एक मात्र पेट्रोल बेच्ने पम्प हो । त्यसैले डोटीमा व्यापक समस्या उब्जिएको छ ।

अछामका व्यवसायी कुँवर पनि यही अवस्था रहे पेट्रोल नबेच्ने निर्णयमा पुगेको बताए। “घरखेत बेचेर सेवा गर्न सकिँदैन । मुनाफाका लागि काम गर्ने हो”, उनले भने, “हाम्रो मुनाफा ट्यांकर चालक र आयल निगमका कर्मचारीले बाटोमै खाइदिन्छन् । अनि कसरी व्यवसाय गर्ने ?”

तापक्रम समस्या
तापक्रमअनुसार पेट्रोलियम पदार्थको आयतनमा तलमाथि हुन्छ । सोही कुरालाई आधार बनाएर निगमले ट्यांकर चालकलाई बचाउँदै आफूहरुलाई घाटामा फसाइरहेको व्यवसायीको आरोप छ ।

“डिजलमा त केही राहत छ तर पेट्रोल धनगढीबाटै लोड भएर आउँछ जसमा १ डिग्री मात्रै तापक्रम कम हुँदा ट्यांकरमा १५ लिटर कम भए हाम्रा टाउकामा हाल्छन्”, व्यवसायी भण्डारी भने, “सोही कुरालाई आधार बनाएर हामीलाई फसाउँदै आएका छन् ।” यस्तै अवस्थामा धनगढीमा लोड हुँदाको तापक्रमभन्दा यताको तापक्रम १०/१५ डिग्री तल देखाएर आफूलाई फसाउने गरेको व्यवसायीको आरोप छ । स्रोतका अनुसार बाटामा ट्यांकर चालकले १५० लिटरसम्म गरेको बदमासी सहजै लुक्छ । त्यसभन्दा माथिको तापक्रमलाई हवाला दिएर उम्काउन सकिन्छ ।

निगमको दिपायलस्थित शाखा कार्यालयका प्रमुख निरन मगरातीले यस्तो समस्या तापक्रमकै कारणले सिर्जना भइरहेको बताउँछन् । “तापक्रमले पेट्रोलियम पदार्थको आयतनलाई तलमाथि पार्छ”, उनले भने, “आजभोलि चिसोको मौसम चलिरहेकाले झन् समस्या देखिन्छ ।”

व्यवसायीले उठाएको समस्या दिपायल शाखाबाट समाधान गर्न कठिनाइ रहेको उनले बताए “हामीसँग भण्डार नभएकाले समस्या भएको हो । स्टोरेज नभएकाले हामी पेट्रोलको ट्यांकर धनगढीबाटै मगाएर पम्पलाई आपूर्ति दिन्छौँ । जसमा तापक्रमको समस्या व्यवसायीले नै जिम्मा लिनुपर्ने हुन्छ ।” तापक्रमबाहेकले आउने कमीलाई ट्यांकर चालकबाटै भराउने गरेको उनले दाबी गरे।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु