गृहपृष्ठ २१ प्रतिशत परिवारले मात्रै प्रयोग गर्छन् ग्यास

२१ प्रतिशत परिवारले मात्रै प्रयोग गर्छन् ग्यास

२१ प्रतिशत परिवारले मात्रै प्रयोग गर्छन् ग्यास

प्रदेश ३ मा सबैभन्दा बढी प्रयोगकर्ता र ग्यास उद्योग, प्रदेश ६ मा ३.९६ प्रतिशत घरधुरीमा मात्र ग्यास प्रयोग

काठमाडौँ-मुलुकभरि २१ प्रतिशत घरधुरीले मात्रै खाना पकाउने ग्यास प्रयोग गर्दै आएको एक तथ्यांकले देखाएको छ । आयल निगमले तयार पारेको तथ्यांकअनुसार मुलुकभरि करिब ५४ लाख ३३ हजार २ सय ९७ घरधुरीमध्ये ११ लाख ४० हजार ६ सय ६२ घरधुरीले मात्रै ग्यास प्रयोग प्रयोग गर्दै आएका हुन् ।

ग्यासको आपूर्ति धेरै सहज भएकाले सर्वसाधारण आफैंआकर्षित भएको निगमको दाबी छ । ‘ग्यासको कोटा निर्धारण गरेका छैनाैं । व्यवसायीको आवश्यकताअनुसार दिएका छौं,’ निगमका एलपी ग्यास विभाग निर्देशक दीपक बरालले भने, ‘जसले गर्दा गाउँघरतिर ग्यास प्रयोगकर्ताको संख्या बढदो छ ।’
गत जनवरीमा मात्रै ३५ हजार ३ सय टन ग्यास आयात भएको थियो । यो परिमाण हालसम्मकै उच्च रहेको निगमको दाबी छ ।

निगमका अनुसार सबैभन्दा बढी प्रयोगकर्ता प्रदेश ३ मा छन् । उक्त प्रदेशमा ग्यास उद्योग पनि बढी छन् । तथ्यांकअनुसार प्रदेश ३ मा १२ लाख ६९ हजार १ सय ४४ घरधुरी छन् । तीमध्ये ४८ प्रतिशत (६ लाख २१ हजार ४१) घरधुरीले ग्यास प्रयोग गर्छन् । यो प्रदेशमा कुल घरधुरीको २३.४६ प्रतिशत बसोबास भए पनि प्रयोगकर्ताका हिसाबले सबैभन्दा धेरै (५४.४५ प्रतिशत) यही प्रदेशमा छन् । यहाँ २६ वटा ग्यास उद्योग सञ्चालनमा छन् ।

प्रदेश १ मा १ लाख ५७ हजार ९ सय ४ घरधुरीले ग्यास प्रयोग गर्दै आएको निगमले जनाएको छ । उक्त प्रदेशमा ९ लाख ९१ हजार ७ सय ७५ घरधुरी छन् । उक्त क्षेत्रमा ९ ग्यास उद्योग रहेको निगमले जनाएको छ । प्रदेश २ मा ९ लाख ३२ हजार ८७ घरधुरीमध्ये ५४ हजार १ सय ३३ घरधुरीले ग्यास प्रयोग गर्दै आएको निगमको तथ्यांकमा छ । यो प्रदेशमा ८ वटा ग्यास उद्योग छन् ।

निर्देशक बराल ग्यास दाउराभन्दा सस्तो भएकाले पनि सर्वसाधारण ग्यासतर्फ आकर्षित भएको बताउँछन् । ‘दाउरा एक भारीको २५ सय रुपैयाँ पर्छ । ग्यास १३ सय ७५ रुपैयाँमा पाइन्छ,’ उनले भने, ‘ग्यास प्रयोगले धूवाँधूलाको समस्या पनि नहुने हुँदा यसतर्फ उपभोक्ता आकर्षित भएका हुन् ।’

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौंमा ग्यास खपत बढेको छैन ।’ उपत्यकामा अधिकांश घरमा पहिलेदेखि नै ग्यास नै प्रयोग हुँदै आएको छ । त्यसैले उपत्यकामा बजार छैन । तराई र पहाडी जिल्लामा भने माग २० प्रतिशतले बढेको उनले बताए । ‘सामुदायिक वनमा दाउरा पाइँदैन,’ उनले भने, ‘त्यसैले जिल्लातर्फ प्रयोगकर्ता बढदै छन् । अझै पनि ८० प्रतिशत घरधुरीमा पुग्न बाँकी रहेको उनले बताए । हाल मुलुकभरि ५६ वटा बोटलिङ प्लान्ट (अटो ग्यास प्लान्टसहित) छन् । ती बोटलिङ प्लान्टको थप ३ वटा शाखासहित ५९ वटा बोटलिङ प्लान्टबाट ग्यास रिफिलिङ गरी बिक्री गर्दै आएका छन् । ती बोटलिङ प्लान्टले सिलिन्डरमा १४.२ किलो ग्यास भरेर बिक्री गर्छन् ।
निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ)जारी गरेपछि सोहीअनुसार व्यवसायीहरूले भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट आयात गर्छन् । ती ग्यास भारतको बरौनी, हल्दिया, मथुरा र कर्नाल रिफाइनरीबाट भारतीय बुलेटमा लोड हुन्छ । त्यसपश्चात् मुलुकभित्र आयात हुन्छ ।

निगमको तथ्यांकअनुसार (२०७३ असार मसान्तसम्म प्रमाणीकरण भएको) सिलिन्डर संख्या ७८ लाख ८६ हजार ९ सय २ वटा छन् । उक्त ग्यास सिलिन्डर ९ हजार बिक्रेतामार्फत ग्यास बिक्री हुँदै आएको छ ।
तथ्यांकअनुसार प्रदेश ४ मा ६ लाख ३९ हजार ५ सय २७ घरधुरीमध्ये १ लाख ५५ हजार ९ सय ४१ घरधुरीले मात्रै ग्यास प्रयोग गर्छन् । प्रदेश ४ मा ७ वटा ग्यास प्लान्टले रिफिलिङ गर्दै आएका छन् ।

प्रदेश ५ मा ८ लाख ८३ हजार ५ सय ४७ घरधुरी छन् । तीमध्ये १ लाख २१ हजार २ सय ३१ घरधुरीले मात्रै ग्यास प्रयोग गर्दै छन् । प्रदेश ५ मा पनि ७ उद्योगले रिफिलिङ गर्दै आएको निगमले जनाएको छ । प्रदेश ६ मा भने ग्यास उद्योग नै छैन । उक्त प्रदेशमा २ लाख ७७ हजार ५ सय ३९ घरधुरी छन् । जसमध्ये १० हजार ९ सय ९० घरधुरीले ग्यास प्रयोग गर्दै आएको जनाइएको छ ।

निगमका प्रबन्धक प्रलयकर आर्चायका अनुसार प्रदेश ६ मा भेरी, मनकामना र राप्ती ग्यासले मार्केटिङ (बिक्री) गर्दै आएका छन् । प्रदेश ७ मा ४ लाख ६९ हजार ७ सय ३ घरधुरीमध्ये १९ हजार ४ सय २२ घरधुरीले ग्यास प्रयोग गरेको निगमले जनाएके छ । प्रदेश ७ मा एउटा मात्रै ग्यास बोटलिङ प्लान्ट छ । संघका पूर्वअध्यक्ष शिव घिमिरेले सडकको समस्याले बजार विस्तारमा केही समस्या भएको बताए ।

‘दुगर्ममा माग उच्च छ तर बाटो पुगेको छैन,’ उनले भने, ‘त्यसैले समस्या भयो ।’ ग्यास आर्थिक रूपमा खर्चिलो भन्ने मानसिकताले पनि कम प्रयोग भएको व्यवसायीहरूको ठहर छ । सहरीकरणसँगै प्रयोगकर्ता पनि बढदै जाने उनीहरूको अनुमान छ । ‘स्थानीय निकाय गठन भएपछि बाटो बन्दै जान्छ,’ घिमिरेले भने, ‘बाटो बनेपछि ग्यासको खपत पनि बढ्दै जान्छ ।’

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु