nmb bank

गृहपृष्ठ वातावरण संरक्षण र इको क्लबको अर्थपूर्ण भूमिका

वातावरण संरक्षण र इको क्लबको अर्थपूर्ण भूमिका

वातावरण संरक्षण र इको क्लबको अर्थपूर्ण भूमिका

वातावरणीय खतराबारे विभिन्न संघसंस्थाहरूले पनि खतराको घण्टी बजाइरहेका छन् । तीमध्ये केही, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनस संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र ग्रीनपिस हुन् । कतिपय संघसंस्थाले आफ्नो कामलाई असर गरेको बेला मात्र वातावरणीय समस्याबारे रिपोर्ट गर्छन् । अन्य कतिपय संघसंस्थाहरू वातावरणीय समस्याहरूमा ध्यानाकर्षण गर्न मरिमेटेका छन् । वातावरणीय विवाद चर्केको ठाउँमा कार्यकर्ताहरू पठाएर विश्वव्यापी उष्णता, लोप हुन लागेका प्रजातिहरू र आनुवंशिक रूपमा छाँटकाँट गरिएका जनावर तथा वनस्पतिहरू जस्ता विषयहरूमा सर्वसाधारणको ध्यानाकर्षण गर्ने कार्यमा ग्रीनपिस नामक संस्था निकै अगाडि छ । धेरैका लागि परिस्थिति बुझ्नै नसकिने भएको छ । वातावरणीय विषयहरूमा यति थुप्रो जानकारीहरू पहिले कहिल्यै उपलब्ध भएका थिएनन् ।
थुप्रै व्यक्ति विशेष र संघसंस्थाहरू वातावरण सफा राख्न यति विघ्न उत्सुक पहिले कहिल्यै भएका थिएनन् । समस्या समाधानमा टेवा पुगोस् भनेर सरकारहरूले विभागहरू स्थापना गरेका छन् । समस्याहरूसित लड्न यति थुप्रो प्रविधिहरू पहिले कहिल्यै हामीसित थिएनन् । तैपनि, परिस्थिति सुध्रिएको जस्तो पटक्कै देखिंदैन । औद्योगिक उन्नतिको उद्देश्य हाम्रो जीवनलाई सजिलो बनाउनु थियो । केही क्षेत्रहरूमा यसले हाम्रो जीवन सजिलो नबनाएको पनि होइन । यद्यपि, पृथ्वीको वातावरणीय समस्यालाई चर्काउनमा यही ‘उन्नतिको’ प्रमुख हात छ । हो, औद्योगिक विकासले हामीलाई दिएका आविष्कार र प्रगतिहरूको हामी कदर गर्छौं तर यसका उत्पादनहरू र ती उत्पादनहरूको प्रयोगले विश्वका केही भागहरूमा अक्सर विध्वंस मच्चाइरहेका छन् ।
बदलिदो विश्व परिवेश को वातावरणसँगै मानिसको सोच, व्यवहार र प्रकृतिमा परिवर्तन आएको छ । विग्रदो वातावरण र त्यसबाट सृजित विश्वब्यापी वातावरणीय समस्याले विज्ञानलाई चुनौति दिएको छ । संरक्षणका नायकहरु विश्व व्यापी समस्याबाट चिन्तित छन् । भविष्यमा सम्हाल्न नसक्ने गरी आउन सक्ने भवितब्यलाई कसरी समयमा न्यूनीकरण गर्न सकिन्छ ? यो विषयमा बहस शुरु भएको छ । समय छँदै गरिएका प्रयासहरुबाट भविष्यका चुनौतिहरुलाई बेलैमा कम गर्न सकिन्छ । मानव सभ्यताको रक्षार्थ केवल प्रकृतिको संरक्षण गर्नु र सन्तुलित अवस्थामा राख्नुको विकल्प छैन । संरक्षण एक्लो प्रयासले मात्र सम्भव छैन र निकै खर्चिलो पनि छ । सबैको सहयोग, सद्भाव र प्रकृति प्रतिको संरक्षणात्मक भावले मात्र सबैका लागि अनुकुल वातावरण बन्न सक्छ ।
यत्तिकैमा समस्याको अन्त्य हुँदैन । चर्को तापक्रमले अन्य समस्याहरू उब्जाउन सक्छ । विश्वका एक तिहाइ जनसंख्या समुद्र नजिकै बस्ने भएकाले यसले अन्ततः घर र खेतीयोग्य जमिनलाई क्षति पुरÞ्याउन सक्छ । यसले गर्दा समुद्रीतटमा रहेका शहरहरूमा धेरै कठिनाइ आइपर्न सक्छ । बढ्दो तापक्रमले गर्दा घरीघरी अस्वाभाविक रूपमा मौसम बिग्रनुका साथै अत्यधिक वर्षा हुनेछ भनी वैज्ञानिकहरू विश्वास गर्छन् । मौसममा आउने परिवर्तनले गर्दा औलो, डेंग, हैजा जस्ता रोगका किटाणुहरू सर्वत्र फैलिरहेका छन् । वातावरणीय विनाश एउटा विकराल समस्या भएकोले सफल समाधानको लागि सारा विश्वका सरकारहरूको हातेमालोको आवश्यकता पर्नेछ । कतिपय अवस्थाहरूमा, वातावरणमा योगदान पु¥याउन सरकारी प्रतिनिधिहरूले सकारात्मक परिवर्तनहरू गर्ने प्रस्ताव अगाडि सार्न आवश्यक साहस देखाएका छन् । तथापि, साँचो सफलता निकै थोरै र नगण्य मात्र हात परेको छ ।
संरक्षणप्रतिको यही भावबाट प्रेरित भएर संरक्षणका प्रयासबाट पनि प्रकृति संरक्षणमा केही परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच लिई वातावरण संरक्षणका कार्यमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सचेत र सहभागी गराई बाल्यावस्थादेखि प्रकृतिप्रति सकारात्मक धारणाको विकासका साथै प्रकृतिलाई माया गर्न प्रकृतिप्रेमी बनाई प्रकृतिको दिगो ब्यवस्थापन र संरक्षणमा टेवा पु¥याउने गतिविधिहरु सञ्चालन गर्नुपर्ने आजको आवश्यकता हो । विगतमा राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायबीच असमझदारी बढ्दै गएको अवस्था थियो । यसले बन र बन्यजन्तुको संरक्षणमा ठुलो चुनौति देखापरेको थियो । यो सम्पदा हाम्रो हो भन्ने भाव स्थानीय समुदायमा थिएन । बालबालिका तथा समुदाय चोरीसिकार, बन विनास, विषादीको प्रयोग जस्ता अशोभनीय क्रियाकलापमा संलग्न थिए । वातावरण तथा संरक्षण शिक्षाको अभाव नै यसको मुल कारण हो, भन्ने निष्कर्ष अहिले सार्थक बन्ने क्रममा छ ।
इको क्लबमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक वर्ग वातावरण संरक्षण तथा प्रचार प्रसार कार्यमा लागिपरेका समाचारहरु अत्यन्तै सकारात्मक कदमका रुपमा आइरहेका छन् । आजका स–साना विद्यार्थीहरु प्रकृतिप्रेमी बनाउन सकेमा मात्र भोलीको एउटा जिवित पृथ्वीको कल्पना गर्न सकिन्छ । अझ सक्रियरुपमा जैविक विविधता र वातावरण संरक्षणका लागि बालबालिका इको क्लब ार्फत संगठीत रुपमा सक्रिय भएर लाग्नु आजको आवश्यकता हो । संरक्षणका लागि बालबालिकाको आवश्यकता महसुस भई अगाडी बढेको इको क्लबको अवधारणाले निकै लोकप्रीयता हासील गरेको छ । संरक्षणमा सकारात्मक उपलब्धी देखिएका छन् । सकारात्मक तथा गुणात्मक रुपमा इको क्लबहरु जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासोको विषय बन्न पुगेका छन् । हाल १० जिल्लाबाट करिब ३९१ इको क्लब र २ लाख ५० हजार बालबालिकाहरु प्रत्यक्ष प्रकृति संरक्षणमा सक्रिय छन् ।
हाम्रो वरिपरीको वातावरणलाई आफ्ना लागि तथा अन्य जीवका लागि अनुकुल बनाउन वातावरणको उचित व्यवस्थापन गर्नुपर्दछ । इको क्लबहरुले आफ्नो घोषित उद्देश्य परिपूर्तिका लागि विभिन्न क्रियाकलापहरुमा बालबालिकाहरुलाई सहभागी बनाउँदै आएका छन् । संरक्षणात्मक क्रियाकलाप अन्तरगत वृक्षारोपण, सरसफाई, संरक्षण चेतना अभिवृद्धि, अन्तरक्रिया, वातावरणीय तालिम, अध्ययन अवलोकन भ्रमण, गोठालो शिक्षा, गुलेली संकलन, सञ्चारमुखी कार्यक्रम, क्यालेण्डर तथा ब्रोसर छपाई, हरित उपहार आदानप्रदान, पत्रिका प्रकाशन, वातावरण दिवस तथा समारोहका साथै प्रतियोगितात्मक कार्यक्रममा बालबालिका सहभागी भई वातावरणीय ज्ञान, सिप र धारणाका साथै संरक्षण अनुभवहरु आदानप्रदान गर्न अवसर प्राप्त गरेका छन् । साथै संरक्षण पत्रमित्रतामार्फत आफ्ना संरक्षण अनुभवलाई प्रचारप्रसार गरी संरक्षणमा नौलो कार्यको थालनी समेत गरेका छन् ।
वातावरणीय चेतना ज्ञान, सिपले वातावरण विनाश नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इको क्लबबाट प्राप्त वातावरणीय चेतनालाई कार्यान्वयन गरी स्वस्थ, स्वच्छ र सन्तुलित वातावरण सृजना गर्नुपर्दछ । अरुले गरेनन् भनेर कसैले पनि आफ्नो ज्ञान र सिपलाई कुन्ठित राख्नुहुदैन । हामीले विश्वव्यापी रुपमा सोचेर स्थानीय रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गर्नुपर्दछ । आफैले गर्न सक्ने संरक्षणका स–साना काम गरेर संरक्षणमा महत्वपूर्ण योगदान दिन सकिन्छ । यिनै विसुद्ध संरक्षण भावबाट प्रेरित भई इको क्लब संरक्षण अभियानमा सरिक हुँदै आएका छन् । यो अभियानलाई अझ ससक्त बनाउन अभिभावक, विद्यालय प्रशासन, संघसंस्था, शिक्षा कार्यालय लगायत सबैको सहयोग र सद्भावको खाँचो छ । (लेखक जलवायु संरक्षण अभियानका महासचिव हुन् ।)

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु